ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस


लेखक : लेखापढी      ३१ चैत्र २०७७, मंगलवार १४:५६ मा प्रकाशित     
ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरू कम्तिमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

‘काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहित १५ वटा ठूला सहर छन्। यहाँ संक्रमण फैलन सक्ने भएकोले कम गर्न खोजेको हो। अहिलेको नयाँ भाइरस एकदम संक्रमणशील छ। त्यसैले एकैचोटी धेरै मानिस बिरामी भएर अस्पताल आए भने उपचार गर्न सकिँदैन,’ उनले भने। 

विद्यालय बन्द गर्ने प्रस्ताव पुगे पनि सिसिएमसीले भने अहिलेसम्म यसबारे ठोस निर्णय लिएको छैन।

स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीले भने, ‘उपत्यकाका मात्र ७/८ लाख विद्यार्थी घरमा बस्दा २० प्रतिशत मोबिलिटी कम हुन्छ ।’

उनका अनुसार यसबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर औपचारिक निर्णय हुन बाँकी छ ।

 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!