कान काटिदिनू


लेखक : लेखापढी      ३० चैत्र २०७७, सोमबार २२:२६ मा प्रकाशित     
कान काटिदिनू
डेङ्गू रोगको प्रकोप बढेको छ । बढाउने कारकतत्व हो – लामखुट्टे ।
भाषण चलेको छ । नियन्त्रण कसरी गर्ने भन्ने सम्बन्धमा वक्ताहरूले मीठो बोलेका छन् ।
भाषण मान्छेले पनि सुनेका छन् र लामखुट्टेले पनि ।
भुरा लामखुट्टेहरू आतङ्कित बनेका छन् । आतङ्कित हुनु स्वभाविक हो । मान्छेमा साँच्चै जागरण आयो भने जातीय अस्तित्वको खतरा छ । भुरा लामखुट्टेहरू अभिभावक घेरेर भनिरहेका छन् –
– “मान्छेले भाषण गरिसके !”
– “अब हाम्रो अवस्था के हुन्छ ?”
– “बूढाहरू किन चुपचाप बसेको ?
– “बूढो हुनुको कारण समस्या निदान गर्ने अभिभारा पनि त बोक्नुप-यो ।”
– “अब अभिभारा लिन सकिंदैन भने नेतृत्व नयाँ पुस्तामा सुम्पिएर सल्लाहकार बन्नुहोस् ।”
बूढा लामखुट्टेहरू मुखामुख गरे र मुस्कुराए ।
एउटा बुज्रुक लामखुट्टेले धारणा राख्यो – “मान्छेको रोग हामी होइन, उसैको बाते स्वभाव हो ।”
अर्को बुज्रुक बोल्यो – “मान्छेहरू चर्चा चाहन्छन् । चर्चाका लागि भाषण गर्छन् । निस्तो भाषणसँग कहिल्यै डराउनु पर्दैन ।”

जनचेतना सभा सकियो । मान्छेहरू लाखापाखा लागे । एउटा मान्छेले अर्को मान्छेसँग भन्दै थियो – “कार्यक्रम भव्य भयो । यो कार्यक्रमले कम्तीमा पनि सय भोट बढेनछ भने मेरो कान काटिदिनू  !”


लक्ष्मण अर्याल

100% LikesVS
0% Dislikes
Spread Your Love !!!