जनमतको ३७ औं वार्षिकोत्सव सम्पन्न


जनमतको ३७ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । २९ चैत
जनमत वाङ्मय प्रतिष्ठान, नेपालको ३७ औं वार्षिकोत्सव यही २०७७ चैत २८ गते बनेपा, काभ्रेमा भव्य समारोहका बिच सम्पन्न भयो ।

जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपनि नारायणभक्त श्रेष्ठ (रायन) विशिष्ट अतिथि एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य विशिष्ट अतिथि थिए भने अतिथिद्वयमा वरिष्ठ राजनीतिकर्मी एवम् लेखक दिनानाथ शर्मा तथा वरिष्ठ कथाकार हरिहर खनाललाई मञ्चमा आसन ग्रहण गराइएको थियो ।

वार्षिकोत्सव समारोहमा स्रष्टा सम्मान, कृति विमोचन, रचना वाचन एवम् मन्तव्यको कार्यक्रम रहेको थियो । वार्षिकोत्सवमा वि.स. २०७५ र वि.स. २०७६ का लागि विभिन्न स्रष्टालाई सम्मान गरिएको थियो । समारोहमा दीपा–जनमत सम्मानबाट रविकिरण निर्जिव र ठाकुर बेलवासे, गणेश–खिलकुमारी दुवाल जनमत सम्मानबाट राजा शाक्य र सुरेशकिरण मानन्धर, हृदयचन्द्र वरिष्ठ साधक सम्मानबाट शेषराज शिवाकाटी र हरिराम जोशी, जनमत–जनक प्रधान सेवा सम्मानबाट टङ्क उप्रेती र नवराज पहाडी, केवनपुरे जनमत सम्मानबाट भागीरथी श्रेष्ठ र प्रा.डा. उषा ठाकुर, कमला सैंजू–जनमत सम्मानबाट रीता ताम्राकार र सुलोचना मानन्धर धिताल, जनमत–महेन्द्रलाल कलाकार सम्मानबाट ठाकुरप्रसाद मैनाली एवम् सरोजा खडकी, जनमत–राजभाई सहयात्रा सम्मानबाट सोमकाजी शाक्य र रीता पहारी न्यौपाने, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मानबाट लक्ष्मी भट्टराई र सावित्री श्रेष्ठ, जनमत केदार–सुदर्शना बालसाहित्य सम्मानबाट यशु श्रेष्ठ र छायादत्त न्यौपाने बगर, जनमत–सिचिं धर्म संस्कृति सम्मानबाट मुकुन्दप्रसाद उपाध्याय र प्रा.डा. रमेशचन्द्र अधिकारी, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मानबाट रामबहादुर पहाडी एवम् डा. गोविन्दराज भट्टराई, जनमत दिपक वैद्य सम्मानबाट प्रा.डा. राजेन्द्र कोजु र प्रा.डा. सुमनराज ताम्राकारलाई सम्मानित गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा मोहन दुवालको अक्षरमा रचनाहरू (लेख संग्रह), हरिप्रसाद चौलागाईको चक्रव्युह (बालन संग्रह), रामसुन्दर देउजाको चाकाचुली (बाल कविता संग्रह) एवम् शारदाप्र्साद पहाडी र गोविन्दप्रसाद शिवाकोटीको दुई आत्माका छालहरू (गजल संग्रह) कृतिको विमोचन गरिएको थियो । समारोहमा जनमत छिट्टै अनलाइन मार्फत आउने र यसको संयोजन सिर्जना दुवालले गर्ने कुराको जानकारी गराइएको थियो ।

समारोहमा टंक उप्रेती, सुलोचना मानन्धर धिताल, ठाकुर बेलवासे, शेरबहादुर अधिकारी, सिल्भिया श्रेष्ठ, सुरेश किरण मानन्धर आदिले रचना वाचन एवम् गीत प्रस्तुत गरेका थिए ।

समारोहमा मोहन दुवाल, सिर्जना दुवाल, प्रा.डा. राजेन्द्र कोजू, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. रमेशचन्द्र अधिकारी, भगवती तिमिल्सिना, केके कर्माचार्य, दीनानाथ शर्मा, गंगाप्रसाद उप्रेतीले मन्तव्य राखेका थिए ।