शेखर अर्यालको लघुकथा तृष्णा


लेखक : लेखापढी      २९ चैत्र २०७७, आईतवार ००:४५ मा प्रकाशित     
शेखर अर्यालको लघुकथा तृष्णा

छोराछोरी ठुलो होलान्, सुखको सास फेर्न पाइएला भन्दै धर्मानन्द थचक्क भुईँमा बसे । घटघट एकलोटा पानी खाएर दौराले पसिना पुछे ।

“बुढी अब त जेठो तेइस पुग्न लागो, छोरी अठाराँ लागि, कान्छोलाई हुर्काउन पाए सुख हुने थियो हगि ?”

“हुन्छ सुख ! भाग्यमा जस्तो छ तेस्तै बेहोर्ने हो ।” बुढीका कुराले बुढाको मन अमिलो भयो ।

“पढ्दै छन्, जागिर खालान्, कमाउलान अनि सुख देलान् नि ! भाग्य त आफै बनाउने हो नि ?”

“पटुका कस्दै बुढी बारीतिर लागिन् ।” बुढा सुखी दिनका औँला भाँच्दै गए ।

केही समयपछि धर्मानन्दको घरमा पारिलो घाम लाग्यो । जेठो परराष्ट्रमा जागिरे, छोरी डिभी परेर अमेरिका अनि कान्छो अष्ट्रेलिया ।

जेठोको विवाह हुने भयो । बुढाबुढी खुसी हुँदै शहर लागे । छोराले मन्त्रीकी छोरीसँग विवाह गर्ने रे ? दाइजो कति हो कति । विवाहपछि बुढाबुढी छोरासँगै शहर बस्न थाले ।

“उता छोरी अमेरिका घरजम गरी बसेकी छ । कान्छोले अष्ट्रेलियामै ग्रिनकार्ड पायो रे ? विवाह पनि उतै गर्ने रे !” छोराछोरीको यस्तो उन्नतिले बुढाबुढी साह्रै हर्षित थिए ।

एक दिन बुढाले छोराबुहारीका भित्री कुरा सुने । उनको मन भारी भयो । उनी ड्वाङ भुइँमा लडे । बुढी बेस्मारी चिच्याइन् तर छोराबुहारी आएनन । उनले बुढालाई पानी खुवाइन् । केही समयमा बुढा ब्युँझे ।

“बुढी ! अब हामी गाउँमै जाऊँ है ?”

“किन र ?”

“मलाई त किन हो किन गाउँ जान मन लाग्यो ।” बुढीले बुढाको मर्म बुझेकी थिइन । उनले स्वीकृति जनाइन् ।

अर्को दिन बुढाबुढी गाउँतिर लागे । छोराले गहभरि आँसु पारेर भन्यो “लिनुहोस् बा भाडा ।”

“चाहिँदैन तेरो भाडासाडा । फरक्क नफर्की उनीहरू बाटो लागे ।”

गाउँमा खैलाबैला मच्चियो । “धर्मानन्दका बुढाबुढी गाउँ आएछन् नि ।”

एक वृद्धले भने “बल्ल बुझ्यो अनि फक्र्यो । उसको त्यो सुखी मन केबल लालसा मात्र थियो ।”
वृद्ध बिहान सबेरै उठेर धर्मानन्दको घरतिर लागे ।

“ए धर्मानन्द ! किन छिटै गाउँ फर्किस् हँ ?”

“प्रणाम काका ! आफ्नो गाउँ बिर्सिन सकिनँ, त्यसैले फर्केँ ।”

“ल, नढाँटी भन् त धर्म किन फर्किस् ? तेरो अनुहार पनि मलिन देख्छु ।”

धर्मानन्द एकछिन मौन रहे, अनि भने “हो काका ! अब हाम्रो सुख तृष्णमै सीमित रह्यो, केवल मृगतृष्णामा ।” बुढाबुढीका आँखा आँसुले भरिएका थिए ।

80% LikesVS
20% Dislikes
Spread Your Love !!!