प्रा.डा. विष्णु राईको कविता जागीर


लेखक : लेखापढी      २९ चैत्र २०७७, आईतवार १५:५६ मा प्रकाशित     
प्रा.डा. विष्णु राईको कविता जागीर

जागीरबापत बनाउने प्रतिबद्धता
आफनो व्यवस्था मिलायो त के भयो
भूकम्प÷पहिरोमा पर्ने उस्तै छन्
कतिले यसो पनि भनेन्
सबैको जमात छ
सडक, पुल खाएर के भयो
हामीले सराब पिएर हेर्ने हो ।

निरिहको फोटो प्रदर्शन गरेर सर्कस देखाउन
सेमिनारमा निर्मम विश्लेषण गरेर आफ्नो प्रगति गरेछ
त के भयो यहाँ
यस्ता गजुर कति खस्यो कसैले उठाएन
कम्तीमा आफ्नो उठाएर उठाउने प्रतिबद्धता देखाएछ
किन मन चिसो पार्ने
मरेर पिएको हेर्ने हो ।

बिरामी मुसालाई धामी बिरालाले कतिञ्जेल फुक्छ
कसैको अत्यपछि उदय हुन्छ
निर्मम उत्सवमा पद खायो
उड्दै गएको प्लेन जमिन खस्यो
जमात उसैको छ
कसरी खायो….हामीले त हेर्ने हो ।

कमले बुझ्छ जीवनको जन्म
सम्पति मृत्यूसम्मको हो
इमान धरती रहेसम्म
कसैको पीडामा उसले रिसवत लियो
कम्तिमा प्रगति चार्ट देखायो
सगरमाथा देखाएर कमाउन सकिन्थ्यो
नचडी कमायो
उसैको जमात छ, जताततै खायो
हामीले त हेरेर मर्ने हो ।

राक्षस र मान्छे कमले मात्र चिन्छ
अनुहारको प्रभावी उस्तै हुन्छ
देवता हुन सक्थ्यो अर्कै खायो
आँसुको समुद्रमा माछा समातेर
प्रतिबद्धता गरेर स्कच पिएको देख्दा
उसको मस्तिष्क मान्नै पर्छ
सारा खरानी हुँदा मीठो जागीर छानीछानी खायो
खाएर ठट्टा देखायो
उसको जमातको शक्ति छ
संसार खायो
हामीले पराजित नभए पनि
हेरेर बस्ने मात्र हो ।
(प्रा.डा. विष्णु राई नेपाली आख्यान एवम् कविता क्षेत्रका सुपरिचित हस्ताक्षर हुन् । हालै उनको सूर्य गिरफ्तार नामक कविता कृति प्रकाशनमा आएको छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!