समय सन्त्रास


लेखक : लेखापढी      २८ चैत्र २०७७, शनिबार २२:५० मा प्रकाशित     
समय सन्त्रास

साउनको मध्य रात । बाहिर पानी दर्किरहेछ । अविरल दर्केको पानीको आवाजसँगै आकाश जोडले गड्किन्छ । भु..ई..चा..लोऽऽ भन्दै अमर आत्तिँदै मुल ढोकामा पुग्छन् । म हामफल्दै उनको नजिक पुग्छु । ‘किन डराएको यसरी ? भुइँचालो हैन, चट्याङ परेको हो ।’ हाउभाउसहित म साउतीमा उनलाई परिस्थितिबोध गराउँछु । निरिह बालक झैँ मेरो अनुहारमा हेर्दै उनी ढोका समाएर उभिरहन्छन् ।

‘हिँडनुस् भित्र ।’ हात समाउँदै उनलाई खाटमा सुताउँछु । बाछिटाले पर्दा छपक्क रुझाएछ । हतारहतार झ्याल टम्म बन्द गर्छु । खाटको साइड टेबलमा राखेको मोबाइल हेर्छु । समय २ ः १४ भएको रहेछ । कोठामा बलेको मधुरो बत्तिमा उनका खुल्ला आँखा सिलिङ, भित्ता, झ्यालका पर्दा, यत्रतत्र डुलिरहेका छन् । केही सम्झेझैँ उनी फेरि जुरुक्क उठछन् र ट्वाइलेट पस्छन् । केहीबेरपछि कोठामा फर्कन्छन् र भन्छन् ‘मीरा बाहिर एक हुल मान्छे हास्दैँ गफिदै हिँडिरहेका छन् । यति रातमा काँ जान हिँडेका होलान् भनी हेरिरहेँ । सबैजना शम्भुको घरतिर पसे ।… हाम्रो घरमा मात्र आजकल कोही आउँदैनन्…।’

म झर्कँदै जवाफ दिन्छु ‘रातभर जाग्राम बस्नेले यस्तै भ्रम देख्छन् । …धेरै नसोच्नुस् । सुत्नुस् ।’

मेरो स्वरमा उनले पनि समानान्तर स्वर मिलाए ‘किन हप्काएको मलाई ? म बुढो भएँ, मेरो पदकुर्सी सकियो त्यसैले म हेप्न योग्य भएँ हैन ?…नबिर्स महारानी ! साँझ बिहान घरमा पाक्ने खान्की मेरै पेन्सनले धानेकोे छ ।’

उनका भनाइमा मेरो कुनै प्रतिक्रिया छैन् । लामो समयदेखि म रातमा मस्त निदाउन पाएकी छैन् । कहिले उनको सेवा त कहिले आफ्नै शरीरको पीडाले निन्द्रा खल्बलिन्छ । म झ्यालपट्टि फर्केर निदाउने प्र्यास गर्छु । उनी खाटमा ध्यानमुद्रामा बसेर बरबराइरहेका छन् । कतै रेडियोमा वाचकले कथा पढेझैँ उनका भडास मेरो कानमा ठोकिन्छन् ‘कस्तो पिडादायी समय यो ? न समय काटिने कामकाज, न मन रम्ने साथीभाइसँगको भेटघाट । मितज्यूले पनि आउनै छोडनु भो । के गरेर काटनु यो पट्यारलाग्दो समय ?’

सामान्य हिसाबमा सबथोक छ हाम्रो जीवनमा । शान्त घरगृहस्थी, महिनावारी आउने पेन्सन, विदेशमा सम्मानित काम गरिरहेका छोराछोरीहरू, इज्जत गर्ने भाइभतिजा । तर आफू रित्तो भान गर्छन् उनी सधैँ । उमेरको हदबन्दीले तीन वर्ष अघि जागिरबाट अवकाश पाएपछि बिस्तारै उनको मनमा नैरास्यता छाउन शुरु भयो । अर्को वर्षदेखि केले हो कुन्नि ? कान कम सुन्न थाले । कृत्रिम औजार कानमा राख्नै मान्दैनन् । बिना औजार कसैले बोलेको बुझ्दैनन् । कान सुन्न छाडेपछि उनी एकहोरो हुँदै गए र जीवनको सार देख्न छोडे । अलि पहिलासम्म त मोबाइल हेर्थे, किताब पढ्थे । टोल समाजको समस्या सुल्झाउन नेतृत्व लिन्थे । घर नजिकै पर्ने शिव मन्दिर अगाडीको पीपल चौतारीमा साँझ बिहान टोलका समकालिनसँग कुराकानी गर्र्थे । ती सबै अहिले कोराना कहरले बन्द छन् ।

केही समयदेखि डाक्टरको सल्लाह बमोजिम डिप्रेशनको औषधी खाइरहेका छन् । नियमित जाँचका लागी उनलाई मनोविद डाक्टर कहाँ लगेँ । स्वास्थ स्थितिमा राम्रो सुधार आएको सुनेर खुसी भएँ । घर फर्केपछि भने उनका पुरानै कुरा दोहरिरहे…‘मीरा ! संसारभर आजकलअ करोना फैलिएको छ रे । मध्यरातमा मैले पनि देखेँ तिनलाई । के थाह कतिबेला कसलाई लाने हो ? मलाई यसरी एक्लाएर नराख तिमी । जीवन अनिश्चित छ । मलाई मन परेका आफन्त सामु जान देऊ । इष्टमित्र साथीभाइ बोलाउन देऊ । .. आफूले मन पराएका मान्छे सामु पो मन खुल्छ । दिल रम्छ । मीत कहाँ समेत मैले जानै पाइन् । मेरो हर चाहनामा किन तगारो हाल्छौ तिमी ? एक्लोपनले लघारेको यो संसार मेरा लागि कति शून्य । कति भारी…।’

‘यताउता डुलिहिँडने रटना त्याग्नुस् । खास अहिले कोरोनाको डरले कसैैसँग कोही भेट गर्नै चाहन्नन् ।’

‘मान्छेसंग मान्छे भागेर संसार चल्छ ?….यस्तो जाबो भाइरस कति आए कति गए । पृथ्वी नै ठप्प अडाउने अब ??…..तिमीले मलाई मुठीको माखो बनाएकी छौ । मेरा मानिस तिम्रा आफन्त भइदिएका भए बाटो फुक्थ्यो तर त्यो भएन ।….. तँलाई मनमरेको जुगेँ डाक्टरकाँहा त मलाई डोराउँदै लग्छेस् त ? अनि मेरा आफन्त कहाँ जान किन नहुने ?’ अन्तिम शब्द भन्दा उनको स्वर ठूलो र रुख्खो मात्र हैन, आँखा ठूलोठूलो भएको थियो ।

उनका कुराले मेरो रिस नाकको टुप्पामा पुगेको थियो । तर निलेँ । ‘पागलहरूलाई कुरा बुझाउन गाह्रो छ ।’ यति भन्दै म माथिल्लो तलामा उक्लिएँ र सोफामा ढलेँ । रातभर गिजल्टिएको निद्रा कमलो आसन पाउन नपाई मसक्क भएछ । व्यूँझेर तल झर्दा कोठामा उनी थिएनन् । बाहिर भित्र यताउता हेरँे । उनी थिएनन् । मन झसङ्ग भो । ‘लौ अब काँ खोज्न जाउँ ? हे राम !!’ म राम पुकार्दै थिएँ, उनी खिसिरिक्क परेको अनुहार लिएर गेटबाट भित्रिए ।

‘काँ गएको फेरि ? यसरी फुत्तफुत्त जथाभावी ननिस्कनुस् भनेर कति भन्नु ?’ म खस्रो स्वरमा बोलेँ ।

‘त्यही हरिहरजीकाँ गएको थिएँ । बरन्डामा बसेका थिएँ, भित्र पसे । स्वास्नीचाँइले त मलाई हेर्दा पनि नहेरेर ‘वाँ हुनुहुन्न’ भन्दै झर्के जस्तो गरेर भित्र पसी वाह ऽऽ ….कस्तो अचम्म !! पहिला त पुग्न नपाउँदै ‘च्या ल्याउँ सर् ?’ भन्थी । .अहिले के कुराको मात लाग्यो त्यसलाई कुन्नि ? …. मलाई त कस्तो ननिको लाग्यो छिऽऽ । अब त त्याँ कहिले पनि जान्न ।’

‘अनि यस्तो बेला कसैको घर जानहुन्न भनेर कति भन्नु तपाईँलाई ? मैले त बोल्यो कि विष हुन्छ ।’ म रुखो स्वरमा भनेँ ।

‘याँ पनि नजानु, वाँ पनि नजानू । यही कोठामा कोच्चिएर मरुँ ? म पिँजडाको सुगा हैन, मान्छे पो हूँ । दुनियाँका मान्छे निर्धक्क हिँडेका छन्, कामकाज ग¥या छन्, तिनलाई केही भा छैन । मैले चाँही कसैसंग भेटनै नपाउने किन ? मानौ मनै कोराना भाइरस हुँ जस्तो ।’ उनी दुई हातले टाउको समाएर सोफामा थाच्च बसे ।

केही दिन पछिको एक अपरान्ह ल्यान्डलाइनको फोनमा आएको खबरले मलाई चिसो गरायो । मितज्यूका भान्जा प्रविणले जानकारी दिँदैै थिए ‘..मामालाई कोरोना पोजेटिभ देखिएको थियो । दुई दिनका दिन अस्पतालमै परलोक हुनुभो । …दाहसंस्कार पनि परिवारकाले गर्न पाएनन रे ।’

‘हरे राम ।’ मेरा शब्द यत्तिमै अडिए । … आँखामा पानी भरियो । म सारीको सप्कोेले पुछन थालेँ । यो खबर उनलाई कसरी सुनाउँ ? म सोच्दै थिएँ, उनी प्रश्न वर्षाउन थाले ‘कसको फोन ? के भएछ मीरा ? केही नराम्रो कुरा….?’

भूमिका बाँधने अवसरै थिएन् । गहमा भरिएका आँसु चोरऔँलाले पुछ्दै भनेँ ‘हजुरको मितज्यू परलोक हुनु भो रे । भान्जाको फोन … ।’

‘मितज्यू बित्नु भो रे ? के सुनँे यो ?’ उनी आमाको पिटाई खाएको बालकझैँ एकछिन क्वाँक्वाँ रोए अनि निरिह स्वरमा भन्नथाले ‘मित भनेको जेठो दाइ समानको नाता हो । जीवनको सुखदुःखमा साथ दिने प्यारो व्यक्ति… । कस्तो अचम्म थाहै नदिई उहाँ हामी सबैलाई छाडेर जानुभो ?.. मैले पटकपटक भनिराथेँ, मितज्यू कहाँ जाउँ भनेर मेरो कुरा कसैले सुन्दैनन् । उहाँलाई भेटने मेरो तिर्खा दिवंगत शरीरमा फूल चढाएर मेटिन्छ ? कस्तो दुःखद ?? ….अन्तिम दर्शन गर्न भए नी म जान्छु छिट्टै…।’

‘कसरी जानु छिटो ? देश पुरा लकडाउनमा छ । सवारी साधन चलेको छैन । कोरोनाबाट मृत्यु भएका कारण उहाँको घरमा कोही जान समेत पाउन्न रे । दाहसंस्कार त परिवारको साटोे सेनाले ग¥यो रे । यो अवस्थामा उहाँका लागि हामीले जे जसो गर्ने हो, त्यो यहीँ गर्नुपर्छ ।’

‘तँ पागल भइस मीरा ? मित बित्दा पनि म उनको घरमा नपुग्नु ? मलामी नजानु ? परिवारलाई सम्वेदना नदिनु ? यही हो हाम्रो धर्म ? यही हो हाम्रो संस्कार ? …१०० चोटि भनेँ ‘मितज्यू कहाँ जाउँ भनेर । महामारीका बेला कहीँ जानुहुन्न रे, दुस्मनी कमाइन्छ रे ।…तेरो माईत जाउँ भनेको भए पुच्छर ठाडो पार्दै दुकुर्थिस् । मेरो नातागोतासँग तेरो के आत्मियता ? अब मेरो बाटो कसैले छेक्न सक्दैन । ’ उनी चिच्याउँदै गेटबाट बाहिरिए ।

‘अब के गरौँ मैले सोच्न सकिन् । उनलाई रोक्न पछिपछि दौडेँ, गोडामा जुत्ता बिना । बाटो हिँडदै गरेका २ जना किशोरहरू मलाई हेरेर हाँस्दै अगाडी बढे । आफ्नो परिस्थितिसँग लाज लागेर आयो । हेर्दाहेर्दै उनी छेलिए । उनलाई छोप्ने मेरो प्रयास पनि छेलियो । म सडकको पेटीमा थ्याच्च बसेँ । शून्य भएँ । त्यसैबेला गस्तीमा हिँडेका पुलिसले मलार्ई घर जान भने । घरको गेटमा पुग्दा एउटा पुलिसको साथ उनी पनि मुल गेटमा देखिए ।

निन्द्राको गोली खाएपछि त्यो साँझ उनी मस्त सुते । भोलिपल्ट आकाशमा सूर्य निक्कै माथि पुग्दा भान्सामा खान खान पसे । खाँदै गर्दा सोचेझैँ उनले भने ‘मीरा मलाई याँ बस्नै मन छैन । मसानघाट जस्तै लागिरहेछ यो घर । …जाउँ अन्तै बस्न ।’

‘काँ जाने आफनो घर छोडेर ?’

केही कुरा सम्झेझैँ गरी उनले भने ‘ श्याम कहाँ जाँउ ।’

‘हु न्.. छ । जानुस् ।’ मैले ओठ बाने ।

‘किन ओठ बानेकी मीरा ? हामी अंशको दावीमा लडने दाइभाइ हैनौँ, बंशको उदाहरण हाँै …..।’

‘संसार अहिले कोराना कहरमा छ । यस्तो बेला कोही घरमा आएको कसैलाई मन पर्दैन । श्याम बाबु त अझ कोभिडसंग बेपत्तै डराउनु हुन्छ ।’

उनले अनुहार कच्याककचुक पारे र रुख्खो स्वरमा भने ‘फेरी कोरोनाका कुरा । दाइभाइबिच नै भेटघाट नहुने कतै हाम्रो संस्कारमा छ ? मलाई कोराना भा’छ ? मेरो भाइलाई पनि भा छैन । अनि किन हामी बिच यो दुरीे ? ऊ मकाँहा आउन्न, म पनि ऊ कहाँ जादै गइन भने हाम्रो सम्बन्ध के हुन्छ ? …पहाड ढलेपनि, पृथ्वी फाटेपनि त्यो कोरोने भूतले हामी भाइभाइको प्यारो सम्बन्ध तोडन सक्दैन । ..मेरो मितज्यू मलाई थाहै नदिई बित्नु भो । अब मेरो प्यारो भाइलाई नभेटेर म मरुँ ? एक्लै जिउने एक्लै मर्ने भए सारा यो जगत के प्रयोजनका लागि हो ?’ बोल्दैबोल्दै उनी जुरुक्क उठे र कोठामा पसे ।

खानपिन सकेर म करेसाबारीतिर लागेँ । केहीबेरमा भित्र पस्दा उनी कोठामा थिएनन् । म हतारिदै उनलाई खोज्न हिँडे । बाटोमा छिमेकी प्रमिलाले पो जानकारी दिइन् ‘दाइ त श्यामकाँ पुगेर आउँछु भन्दै हिँडनुभाथ्यो… ।’ म हतारिदै त्यतै सोझिएँ । गेटमा उभिएका रहेछन् उनी ।
निक्कैबेर कलबेल बजएपछि भाइ बुहारीले एकसाथ बरन्डाबाट हेरे । दाइलाई देख्दा श्यामबाबु अनौठो भावमा बोल्नुभो ‘अमर दाइ यस्तो महामारीका बेला तपाईँ काँ हिँडेको ? … ज्यानको माया छैन…?’

‘समय जोखिमपूर्ण छ दाइ । यस्तो बेला ज्यान जोगाउनु पर्छ । परिवार जोगाउनु पर्छ … भेटघाट त नमरी बाँचे भइहाल्छ नि ।’

‘जाउँ घर ।’ मैले उनको हात विस्तारै तानँे ।

‘छोड् ।’ उनीले जंिङ्गदै हात हटाए ।

‘कस्तो एकहोरो तपाईँ ? यस्तो बेला भेटघाट नगरौँ भनेको हो बाबुले कुरा बुझनु हुन्न… ?’

‘..सबैका कुरा तँैले मात्र बुझछेस् । हतार भए जा तँ । म भाइलाई नभेटिकन जाँदै जान्न ।… मेरो जीवन पनि मितज्यूको जस्तै दुइ दिननै फुस्स हुने हो कि ? एकपल्ट भाइलाई मायाको अंगालो हाल्छु ।’

हामी गेट बाहिर उभिरह्यौँ । आकाशको रंग धमिलिँदै गयो । श्याम बाबु छेलिनु भो । झ्यालबाट देखिने कोठाको उज्यालो पर्दाले छेक्यो । सडकका पोलमा बिजुली बले । मेरो मोबाइलमा टिङ्ग आवाज आयो । हेरेँ, श्यामबाबुको मेसेज रहेछ । दुवैले सँगै म्यासेज पढ्यौँ ‘माफ गर्नुहोला दाइ–भाउजु कोरोना सकिएपछि भेटघाट गरौँला, यो सन्त्रासको बेला मुटु जतिसुकै दुखे पनि नजिकिन सकिन्….. ।’ म्यासेजको अन्त्यमा आँखाबाट आँसु झार्दै गरेको आइकन देखियो ।


सिर्जना शर्मा    
(सिर्जना शर्मा मूलतः आख्यान साहित्य एवम् बालसाहित्यमा कलम चलाउँछिन् । यस कथामा उनले समसामयिक जीवन भोगाइका जटिलतालाई सूक्ष्म किसिमले विश्लेषण गरेकी छिन् – उहाँमा हार्दिक आभार ब्यक्त गर्दछौ –www.lekhapadhi.com, हेरिटेज मिडिया नेटवर्क)


 

Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!