विद्यालय तहको परीक्षा निर्धारित समयमै हुने


विद्यालय तहको परीक्षा निर्धारित समयमै हुने

काठमाडौँ । चैत २७  ।
सरकारले स्वास्थ्य सुरक्षा उपाय अपनाएर २०७८ जेठभित्र विद्यालय तहको सबै परीक्षा सक्ने तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाको नयाँ सङ्क्रमण बढेसँगै यसले पठनपाठन र परीक्षालाई प्रभावित गर्ने अनुमान गरिएको थियो । सरकारले पूर्व निर्धारित समयमा परीक्षा सक्ने तयारी भइरहेको बताएको छ ।

कोरोनाको यात्रा कसरी अघि बढ्छ भन्ने आधारमा नयाँ निर्णय हुने तर हाल पूर्व निर्धारित परीक्षा नरोक्ने निर्णय गरिएको छ । कोरोनाको सङ्क्रम फैलिन नदिन विद्यालयलाई सचेत बनाउनु पर्ने र आवश्यकता अनुसार अनुगमन गर्नुपर्ने जानकारी दिइएको छ ।

भारतमा कोरोनाको नयाँ सङक्रमण बढेकोले त्यसको असर नेपालमा पनि पर्ने आशंका विद्यामान रहेको भएपनि पूर्व निर्धारित कार्यतालिका अनुसार कक्षा १० र १२ को परीक्षाको तयारी अघि बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि गर्ने निर्णय गरिसकेको छ । यसका साथै जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

त्यस्तै कक्षा ११ को परीक्षा असारमा हुने भएको छ । कक्षा ११ को पठनपाठनमा समय लाग्ने भएकोले असारमा परीक्षा हुने सम्भावना बढेको छ । कक्षा ११ को परीक्षाको कार्यतालिका र परीक्षा सञ्चालन विद्यालयले नै गर्न सक्ने अधिकार राष्ट्रिय परीक्षा बोर्डले दिएको छ । विद्यालयले आन्तरिक कार्यतालिका मिलाएर परीक्षा लिन सक्ने बोर्डले जनाएको छ ।