देउवा नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र सहमत, जसपाले माग्यो समय


लेखक : लेखापढी      २७ चैत्र २०७७, शुक्रबार १९:४५ मा प्रकाशित     
देउवा नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र सहमत, जसपाले माग्यो समय

काठमाडौं । चैत २७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आफ्नो निवासमा भएको तीन दलको बैठकमा आफूलाई भावी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । देउवाको प्रस्तावलाई नेकपा–माओवादी केन्द्रले सहमति जनाए पनि जनता समाजवादी पार्टी भने अझै अनिर्णयको शिकार बनेको छ ।

आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ एवम् देव गुरुङले सहभागिता जनाएका थिए भने जसपाबाट अध्यक्षहरू डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठले भाग लिएका थिए ।

नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, महामन्त्रीहरू शशांक कोइराला र पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रवत्ता विश्वप्रकाश शर्माको टोलीले बैठकमा भाग लिएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले चैत २० को बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको थियो ।

अब कसको सरकार बन्ने विषयमा जसपाको निर्णायक भूमिका रहने देखिएको छ । जसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतोमा प्रधानमन्त्री ओलीप्रति अनुराग रहेको र उपेन्द्र यादव, डा.बाबुराम भट्टराईको कांग्रेस—माओवादीप्रति झुकाव रहेकोमा अब पार्टीमा कसको पक्ष प्रभावी हुने र कसले निर्णय प्रभावित गर्न सक्ने हुन् ? यो कुरा थाहा पाउन केही दिन पर्खनुपर्ने देखिन्छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!