प्रज्ञा प्रतिष्ठानमा नेपाल भाषाका प्रगतिवादी महाकविको योगदानमाथि चर्चा


[ss_social_share]
लेखक : लेखापढी      २६ चैत्र २०७७, बिहीबार २०:४४ मा प्रकाशित     
प्रज्ञा प्रतिष्ठानमा नेपाल भाषाका प्रगतिवादी महाकविको योगदानमाथि चर्चा

२६ चैत । काठमाडौं
नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले प्रज्ञा भवनमा नेपाल भाषा साहित्यका प्रगतिवादी महाकवि गिरिजाप्रसाद जोशीको ८३ औं जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्वका विविध आयाम विषयक विचार गोष्ठी आयोजना गर्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो गोष्ठीको सञ्चालन शशिकला मानन्धरले गरेकी थिइन् ।

नेपाल प्रज्ञा प्रतिष्ठनको प्राज्ञ परिषद सदस्य एवम् मातृभाषा विभाग प्रमुख लक्ष्मी मालीले स्वागत मन्तव्यका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिने स्रष्टाको योगदानमाथि कार्यक्रम गर्ने क्रममा नेपाल भाषाका प्रगतिवादी महाकवि गिरिजाप्र्साद जोशीको व्यक्तित्व र कृतित्वमाथि कार्यक्रम गरेको बताइन् । उनले अगामी दिनमा यस किसिमका कार्यक्रमले निरन्तरता पाउने बताइन् ।

महाकवि गिरिजाप्रसाद जोशीको व्यक्तित्व र कृतित्व नामक कार्यपत्र नेपाल भाषाका कथाकार शरद कसाःले प्रस्तुत गरेका थिए । उनले जोशीले पिपा, टक्सारमा खरदार, रोड ट्रान्सपोर्ट कम्पनीमा नोकरी, विद्यालयको शिक्षक एवम् प्रधानअध्यापकको भूमिका निर्वाह गरेको बताए । महाकवि जोशीले कमै उमेरमा नेपाल भाषाको साहित्य लेखन, साहित्यिक संगठन, सम्पादन एवम् मातृभाषा जागरणका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । बहुविधाका लेखक जोशीका रचनामा समाजका निम्नवर्गीय जीवन र पात्रप्रति सम्वेदना भाव पाइने, सामाजिक अन्धविश्वास एवम् कुरीतिको विरोध प्रमुख रुपमा आएको बताए । नेपाल भाषालाई समृद्ध बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यपत्रमाथि टिप्पणीका क्रममा नेपाल भाषाका लेखक, निबन्धकार पूर्ण ताम्राकारले महाकवि जोशीको योगदानको चर्चाका साथै कार्यपत्रमा छुटेका कुराको चर्चा गरेका थिए । लेखक नारायण ढकालले गिरिजाप्रसाद जोशीसँगको आफ्नो संगतका साथै उनको योगदानको चर्चा गरे । कार्यक्रममा पाँच साहित्यकारले महाकवि गिरिजाप्रसाद जोशीका रचनाको नेपाल भाषा एवम् नेपाल भाषाको अनुवाद प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा साहित्य एवम् नेपाल भाषा साहित्यका क्षेत्रमा गरेका कार्यको चर्चाका साथै महाकवि गिरिजाप्रसाद जोशीको योगदानका चर्चा गरेका थिए ।

सभाध्यक्ष नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले गिरिजाप्रसाद जोशी जन्मेको क्षेत्र साँखुको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको चर्चा गरे । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले गरेका कार्यमा नेवार समूदायले गरेको सहकार्य एवम् सहयोगको प्रशंसा समेत गरे ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •