प्रेम कहानी(एउटा अलग प्रेम कथा) :- भाग १


[ss_social_share]
लेखक : लेखापढी      २४ चैत्र २०७७, मंगलवार १३:३९ मा प्रकाशित     
प्रेम कहानी(एउटा अलग प्रेम कथा) :- भाग १

तिहारको भाइटिकाको दिन । आफ्नो घरमा दिदिसंग भाइटिका लगाइसकेपछि कृष्णले फुपुको घर स्याङ्जामा टीका लागाउन जाने निधो गर्यो । घरबाट बसपार्क गइ बस चढ्यो र  लगभग बसबाट केही घण्टाको यात्रा पछि, उ फुपुको घर पुग्यो । त्यहाँ पुग्दा  घरको बाहिर कोहि थिएनन्, तर घरको ढोका भने खुल्लै थियो ।

‘फुपू , ए फुपू !’ बाहिरदेखि नै कराउँदै उ भित्र पस्यो । कसैले उसले बोलाएको नसुनेपछी, उ सरासर भित्र पस्यो । भित्र पस्दा फुपू त हुनुहुन्थेन तर फुपाजु र साथमा मोबाईल चलाइरहेकी एउटी नव युवती  थिइन् । यस्ती युवती, जो उ संग अपरिचित थिइन् । उसले पहिला कहिल्यै देखेको थिएन ।

‘फुपाजु, दर्शन, फुपु हुनुहुन्न?’ कृष्णले सोध्यो ।

`ए कृष्ण, तिमी आयौ, बस न बस, तिम्री फूपू घाँस दाउरा गर्न गएकी छिन् । म बोलाएर आउछु तिमी बस्दै गर है ।´ फुपाजुले भन्नुभयो ।

अनि फुपाजुले ती नव युवतिलाइ, “नानी, तिमी कृष्णलाई चिया पकाएर खुवाउदै गर है, म तिम्रो भाउजुलाइ बोलाएर आउछु । ” भन्दै  घरबाट बाहिर निस्किनु भयो ।

फुपाजु बाहिर निस्किए पछि, ती युवतीपनि चिया पकाउन भान्सा घर तिर लागी । पाँच मिनेट पछि, चिया लिएर आइ र मलाइ कप थमाउदै, चिया पिउन आग्रह गरी । चियाको चुस्की लिदै गर्दा मैले सोधे, ‘तिम्रो नाम के हो अनि फूपू कति खेर जानुभएको घाँस दाउरा काट्न?’

‘तँपाई कृष्ण होइन?’ अपरिचित केटीबाट उल्टै प्रश्न आयो । कृष्ण तीन छक्क पर्यो ।

‘हो, तर तँपाईलाई कसरी थाहा भयो?’

आबुइ, मलाई तपाई भन्न पर्दैन । तिमी भने हुन्छ । तपाई भन्दा सानै छु । ’

‘ल ठिक छ, तिमी नै भन्छु । तिमीलाई मेरो उमेर पनि थाहा रहेछ । धेरै कुरा थाहा छ जस्तो छ मेरो बारेमा, पछि यो विषयमा गफ गरौला, पहिला मैले सोधेको प्रश्नको उत्तर देउ न?’

‘ए ए, माफ गर्दिनु है, मैले त तपाइको प्रश्नको बेवास्ता गरेर आफ्नै कुराको बेलिबिस्तार पो लाउन लागेछु, म त यस्तै नराम्रो छु । अनि फुपु जानू भएको एक घण्टा जति भयो अब फुपाजु लिन जानू भको छ, आइहाल्नु हुन्छ नि, न आत्तिनुस् न´

कृष्णलाई यो केटि कती बोल्दी रैछ जस्तो लाग्यो त्यही पनि बाध्य भएर कुरा गर्न थाल्यो

`त्यस्तो होइन नि, तिमी साह्रै राम्री छौ, आत्तिएको छैन । ´

त्यसपछि जवाफको प्रतिउत्तरमा नवयुवतिले भनी, `तपाईँ सायद काठमाडौ युनिभर्सिटीको कानुन संकायमा अन्तिम वर्षमा पढ्दै हुनुहुन्छ, होइन?´

`लौ, के हो तिमि त ज्योतिष हौ कि के हो, मेरो बारेमा सबै कुरा सहि सहि भन्दै छौ त, अरु के थाहा छ मेरो बारेमा?’ कृष्णले उत्साहित हुँदै प्रतिप्रश्न गर्यो ।

‘नवलपरासीमा तपाईंको घर छ । ’

अनि?’

‘पढाइमा अब्बल हुनुहुन्छ । ’

‘मेरो बारेमा त सबै थाहा रैछ, साच्चिकै ज्योतिष हौ र?´

‘अरुको ज्योतिष  त कहाँबाट हुनु , तपाइको प्राइभेट ज्योतिष चाहिँ हुन सक्छु’, उनी हाँसिन् ।

‘मेरो बारेमा त सबै थाहा रैछ, अनि आफ्नो बारेमा चाँहि केहि भन्नु पर्दैन ?’

‘मैले पत्ता लगाए जसरी, तपाईं पनि पत्ता लगाउनूस् न । ’ उनी खित्खिताएर हाँसिन्, अनि चिया खाइसकेपछु कप भान्सा मा लागिन् अनि भान्साको काममै लागिन् ।

सोनिका नानी , ए नानी !’ बाहिर फुपूको आवाज आयो ।

सेउला ल्याइदेको छु सेउला र  पानी बाख्रालाइ दिनु  त नानी !’

उनी हजुर भन्दै बाहिर निस्किईन् । उनको नाम सोनिका रहेछ भन्ने थाहा भयो । अरु कुरा पनि बिस्तारै थाहै हुँदै जाला भन्ने लाग्यो ।

कृष्ण  पनि बाहिर निस्कियो अनि फुपूलाई ढोगभेट गर्‍यो ।

ए भाइ, कति खेर आइपुगिस्? सोनिकाले चिया बनाएर खुवाइ कि नाइ भाइ?’ कृष्णले भन्यो, ‘खुवाउनु भयो फूपू, खुवाउनु भयो । ´

फूपूले स्याउला लिएर आउनु भएको रहेछ अनि फुपाजुले भाइ मिठाई ल्याएर आउनु भयो । बाख्रालाई स्याउला झुण्ड्याइ सकेपछि सोनिका आएर पिँढीको खाटमा बसि जहाँ  कृष्ण, फूपू र फुपाजु पनि बसिरहनु भएको थियो । फुपु र भदाबिच सञ्चो–बिसञ्चो, हालखबर सोधपूछ भयो । अनि फुपाजुले भन्नुभयो ‘ल दुई बजिसकेछ, अब टिकाटालो गरौ अनि गफ गरौला नि’ । कृष्णले नि हुन्छ भन्यो र फुपुलाइ टीका लगाउन गयो । सबै रिति पूरा गरि, फुपुले कृष्णलाई टीका लगाइदिनु भयो । सप्तरंङ्गी टीका र माला लगाइदिनु भयो अनि भाइमिठाई कोसेली स्वरुप टक्राउनु भयो । कृष्णले दक्षिणा स्वरुप एक हजार फुपुको पाउमा राखी  ढोग्यो । फुपाजु र सोनिकाको बहिनीको अल्पायुमै दुर्घटनाबाट भर्खरै निधन भएको केही समय भएकाले, उनिहरुले टीका लगाएका थिएनन् ।

यहि बीचमा फुपुले जिस्किदै, `ल भाइ सोनिकालाई नि टीका लगाइदे´ भन्नू भयो । कुरा खस्न नपाउदै सोनिकाले भनि `होइन भाउजू म नलाउने यो वर्ष टीका´ ।

फुपाजुले थप्नु भयो, `लाउने भए लाउ नानी, जुठो सकिसक्यो हाम्रो लागि त । ´

`होइन दाइ, म लाउदिन ।´ यति कुरा भएपछी फुपाजु गाउँतिर लाग्नु भयो । सोनिका भित्र गइ र कृष्णले उसको बारेमा थप कुरा बुझ्न ‘सोनिका को हो फुपू ? मैले पहिला देखेको थिइन त ।’ भनेर सोध्यो ।

‘यो मेरी नन्द हो बाबु । उ सदरमुकाममा पढ्नको लागि बस्छन् । यो बेलाबेला बिदाको बेलामा मलाई सघाउन आऊँछे । ‘ फेरि सोनिका घर बाहिर निक्ली ।

‘फुपूको यति राम्री नन्द रहिछन्, पहिला भन्नु भएन त! चिया पनि निकै मिठो बनाउँदी रहिछन् । ‘ सोनिकालाइ कृष्णले अलिकति फुर्कायो ।

सोनिकाले पुलुक्क हेरिन् । उनको पुष्ट गालामा लालि फैलियो ।

‘ल फुपू , अब म फर्किन्छु । फुपाजु पनि कति खेर आउनु हुन्छ कुन्नी?´

‘ह्या भाइ, तलाइ के को हतार हो, वर्ष दिनमा एक चोटी आउछस्, जहिले पनि जान कै हतार । भरे फुपाजु आउनुहुन्छ, गफ गाफ गर्नुपर्छ, कहाँ अहिले जाने कुरा गरेको?´

फूपू कृष्णको झोला बोकेर भित्र पस्नु भयो ।

‘होइन फुपु, मलाई जानू पर्छ के बुझ्नु न´

`कहाँ जान हतार गरेको ए केटो तैले ?’ फुपुले सोध्नु भयो ।

‘खै, गलफ्रेन्डलाई भेट्न जानू पर्ने होला नि?’ पूर्णिमाले थप्दी ।

‘यसले मेरो भाइलाई समेत नछोड्नी भई’, फुपु डाको छाडेर हाँस्नुभयो ।

कृष्ण पनि नहासि  बस्नै सकेन । `गलफ्रेन्ड हुनलाई त हामि जस्ता नराम्रालाई  कसले हेर्छ र हौ, अब मेरो प्यारी फूपूकि राम्री नन्दले भनी भने चाहिँ बस्नु पर्ला´

फुपूले छड्के नजरले हेर्दै, `के हो भाइ, मेरि प्यारी नन्द संगै सम्बन्ध बनाउने बिचार गरिस् कि के हो´भन्नुभयो र सोनिकालाई लिएर गोठमा भकारो सोहोर्न जानुभयो ।

कृष्णको बाल्यकाल फुपूको घरमा नै धेरै बित्थ्यो । लामो समयको विदा हुन नपाइ जान्थ्यो र बिदा भरी नै बस्थ्यो । फुपुले कृष्णलाई  अति माया गर्नु हुन्थ्यो । फुपु फुपाजुका सन्तान थिएनन् । त्यही भएर होला, फुपु कृष्णमा आफ्नो मातृत्व खन्याउनु हुन्थ्यो र छोरा सरि स्यार-सुसार र माया गर्नुहुन्थ्यो । अहिले कृष्ण ठूलो भइसकेपछि भने पढाइको कारणले गर्दा, उ फुपुको घर बिरलै जान्छ ।

फुपूको लिडेढिपीको कारण उ त्यो दिन त्यहीँ रोकियो । त्यो दिन मात्र होइन, उ अरु दुई दिन पनि त्यहि बस्यो । सोनिकासँग गफ गर्यो । केही पारिवारिक र व्यक्तिगत कुराकानी पनि गरे । सँगै बाख्रालाई स्याउला लिन पनि गए । भैंसी फुकाएर चराउन पनि गए । नजिकै दशैँमा पिङ राखेको थियो, त्यो पिङमा मच्चिन पनि पुगे । केटाकेटीहरु हुलमा मिस्सिएर राती अबेरसम्म उनिहरुसंग पनि खेले । खेलेर घर आएर फुपूले पकाउनु भएको खाना खाए अनि कृष्ण र सोनिका संगै बसेर गफ गर्न थाले । एकछिनपछि भाडाकुडा माझेर फूपू पनि गफगाफ गर्न आउनु भयो । केही समयपछि फुपूले हाइ गर्दै सुत्न जान्छु, भाइलाई पाउनाकोठामा सुत्ने बिस्तारा मिलाइदेउ अनि तिमी हाम्रो कोठामा सुत्न आउ भन्दै जानू  भयो । त्यसपछी सोनिका र कृष्णले कुरा गरे अनि सोनिकाले भनिन्,

`ल अब दस बजिसक्यो, तपाईं यहि सुत्नुस्, म उता गएर सुत्छु है, गुड नाइट´
प्रतिउत्तरमा कृष्णले भने, `हुन्छ, गुड नाइट, स्विट डृम ।´ त्यसपछी सोनिका त्यहाँबाट निस्की अनि फुपुको कोठामा गइ । फूपू फुपाजु सुती सक्नु भएको रैछ । अनि उसले अर्को खातमा बिस्तारा लगाई र सुति । थकानले होला सुत्ने बित्तिकै निदाइ ।

यता कृष्ण भने निदाउन सकिरहेको थिएन । जुनेली रातमा,  उ प्रेमको कल्पनाको अकासमा उड्न थालिसकेको थियो । उ आज दिनभरिको कुरालाई सम्झिदै निन्द्रा देविको शरणमा पुग्यो र निदायो ।

भोलि पल्ट पनि हिजोकै जसरी रमाइलो गरेर नै सोनिका र कृष्णले आफ्नो दिनचर्या बिताए । फुपू फुपाजु पनि कृष्णको आगमनले खुसी हुनुहुन्थ्यो ।

अब पढाइ सुरु गर्नु पर्ने भएकाले कृष्ण, पर्सिपल्ट फुपु, फुपाजुबाट आशीर्वाद लिइ  फुपुकोघरबाट बिदा भएर निस्किन लाग्यो  । कृष्णलाई उसले केही महत्त्वपूर्ण चिज छोडेर जाँदै थियो भन्ने महशुस भयो । उसको मनमा बेचैन थियो । सायद सोनिकालाई पनि त्यस्तै भइरहेको  हुनुपर्छ । उनको अनुहार पनि मलिन नै देखिन्थ्यो । यो दुई दिनको भेटमा पनि उनीहरु यति धेरै नजिक भइसकेका थिए कि अब छोडेर जान पनि नसक्ने अवस्थामा पुगिसकेछन् ।

घरबाट हिड्नै लाग्दा ‘अब कहिले आउनुहुन्छ?’ भनेर सोनिकाले सोधी ।

‘सायद अर्को तिहारमा होला । ‘

कृष्ण आँगनबाट निस्किएर बाटोमा के पुगेको थियो, उनले फेरि भनिन्,

‘मेरो दुई महिना पछि  बिहे हुँदैछ, पुस दस गते फुलमाला छ । आउनु पर्छ है । ‘

कृष्णको मनमा ठुलै बाढी आयो, मनलाई सम्हाल्दै भन्यो, `भइहाल्छ नि फुर्सद भएछ भने आउने छु । ´

मनमा अनेक पीडा र वेदना लिएर कृष्ण सिधै काठमाडौं फर्क्यो । कृष्णको परीक्षा नजिकै आइरहेको थियो । तर उ पढाइमा एकाग्र हुन सकिरहेको थिएन । छोटै समय भए पनि सोनिकासँग बिताएका ति यादहरुको सम्झना मात्र आइरह्यो । सोनिकाको बोलि, बानी व्यवहरा र त्यो चञ्चलपन वरिपरि घुमिरह्यो ।

सामाजिक सन्जालको दुनिया थियो । काठमाडौँ फर्किएको केही दिनमै फेसबूकमा सोनिकाको फ्रेन्ड रिक्वेष्ट आयो । उसले तत्काल न स्वीकार गर्न सक्यो न अस्वीकार । केही दिन त्यतिकै ‘पेन्डिङ्ग’ राख्यो ।

एक दिन मेसेन्जरको घण्टी बज्यो । अरु बेला पढिरहेको बेला यस्तो घण्टी बज्यो भने वास्ता नगर्ने कृष्णले आज भने यो घण्टीलाई विषेश प्राथमिकता दिएर पढ्नै छोडेर मोबाइल खोल्यो र हेर्यो ।

‘ओ फटाहा मान्छे, मेरो फ्रेन्ड रिक्वेष्ट किन एक्सेप्ट नगर्नु भएको?’

म फेसबुक त्यति चलाउदिन, त्यसैले थाहा पाइन तिम्रो रिक्वेष्ट आको’, उसले ढाँट्यो ।

एकछिन च्याटरुम शान्त भयो ।

‘ओइ कता हराएको, केही भन्नुस् न´ उताबाट सोनिकाको अनुरोध सहित म्यासेज आयो ।

‘अर्काकी बेहुलीलाई के भन्नु र खै, म पढ्दै छु पछि कुरा गरुम्ला है ?’

‘ए, कुरा त्यसो पो !’

एकछिनको मौनतापछि मेसेन्जरमा फेरि घण्टी बज्यो ।

‘मेरो पढाइ पनि राम्रो छैन । +२ मा एजुकेसनमा फेल भएर पढ्न छोडिदिएकी हु । हुर्केकी छोरी पढ्न नि पढिन भनेर बाबुआमाले कुरा छिनिदिए । मैले नाई भन्नु पर्ने कुनै कारण थिएन । मेरो भाउजुको भाइसंग एकदिन भेट हुनेछ र मेरो दिल चोर्नेछ भनेर कल्पना गर्न र भविष्यमानी गर्न त म ज्योतिष नि होइन नि ।’ सोनिकाले भनी ।

‘ठिकै छ, एउटा दुई दिने प्रेम कहानीको झुर इन्डिङ्ग भयो भनेर सोच्नु पर्ला । जे होस, तिमीसँग बिताएको प्रेमिल पल जीवनभरि सम्झना बनेर रहिरहनेछ । ‘ कृष्णले मेसेज पठायो ।

‘प्रिय, कृष्ण माफ गर्देउ मलाइ, तिम्रो दिल अन्जानमै चोरे, चोरे बापतको सजाय कानुन बमोजिम भोग्न तयार छु’, ठ्ट्याउली पारामा उताबाट जवाफ आयो ।

तपाईंबाट एकाएक तिमी भन्न थालेपछी, कृष्णले यह केही गढबढ हुन सक्ने संकेट पायो र कुरा बिट मार्ने हेतुले भन्यो: ‘तिम्रो दोष छैन । म मेसेन्जर बन्द गर्छु है अब ।   एक महिनामा मेरो परीक्षा छ । तयारी गर्नुछ’ । ´

सोनिकाले हुन्छ भन्दै लभ वाला ‘इमोजी’  पठाई ।

त्यसपछि कृष्ण परीक्षाको तयारीमा जुट्यो । सकि नसकी पढ्यो । मनको बोझ मन मै थियो । फेसबूक पनि चलाउन छोड्यो । सोनिकाबाट कुनै फोन पनि आएन, न त मेसेज नै आयो ।
कृष्णको  परिक्षा पनि सकियो । परीक्षा पछि कृष्ण ले सायद उनले पनि अब बिर्सिन् होला भन्ठान्यो । यथार्थलाई आत्मसात गर्दै, आफ्नो मनबाट सोनिकाको याद बिस्तारै हटाउदै गयो ।

परीक्षा सकिएको केही दिन भएको थियो । कृष्णको मोबाइलमा एक साँझ फोनको घण्टी बज्यो । अपरिचित नम्बर थियो । उसले फोन उठायो, उठाउने बित्तिकै उताबाट भनियो: म तपाईंको फुपूको नन्द म भोलि काठमाडौ आउदै छु, भेटौ है । महत्त्वपूर्ण काम अनि कुरा गर्नु छ । यति भनेपछी, कृष्णले जवाफ फर्काउन पाउँदा नपाउदै फोन काटियो ।

अचानक फोन आउँछ, भेट्नु भनिन्छ अनि फोन काटिन्छ । यो सबै के भइरहेको छ कृष्णले बुझ्न सकेन । अनेक कुरा मन मा खेलाउदै उसले खाना पकायो, खायो र सुत्ने तरखर गर्दै थियो । अनि सुतेर एकछिन मेसेन्जर खोल्यो । खोल्ने बित्तिकै `हेल्लो, के छ खबर´ भनेर मेसेज आयो । मेसेज सोनिका कै रहेछ । अनि कृष्णले टाइप गर्यो:`ठिकै छ, के छ तिम्रो, अनि भोलि किन आउने, अनि फुलमाला गर्यौ त?´र पठाइदियो । यति धेरै मेसेज प्रतिउत्तरको रुपमा आएपछी सोनिका आत्तिदै लेखी; मेरो नि ठिकै छ, आउने कारण अहिले लाई सर्प्राइज राखौं , फुलमालाको कुरा नि भोलि नै भनुम्ला, अहिले म गाडी चढिसके बिहानै आइपुग्छु । गोङगबु बसपार्कमा लिन आउनु होला´ । यति भनेपछि उ अफ्लाइन गइ । कृष्ण किन आउन लागेकी होलि भनेर सोच्दा सोच्दै निदाएछ ।

बिहानै कृष्ण ओछ्यानमै हुदा फोनको घण्टी बज्छ, सोनिका कै फोन रहेछ, फोन उठाउछ, अनि उताबाट बोली आउँछ; ‘म तँपाईकी फुपूकि नन्द । गोङगबु बसपार्कमा छु, मलाई लिन आउने कष्ट गर्नु हुन्छ कि हजुर?’, हुन्छ म आउछु भन्दै कृष्ण फ्रेस भएर बाइक लिएर बसपार्क तर्फ लाग्छ ।

सोनिका बसपार्कको गेटमै कुरिरहेकी थिइन् । भेट पनि भयो र  सञ्चो–बिसञ्चोको औपचारिक प्रश्नहरु सकिएपछि उसले सोध्यो, ‘तिमी कहाँ जाने हो?, म पुर्‍याईदिन्छु, भन । ´

म त आफ्नै भाउजुको भदाकोमा जाने हो । ‘ उसले मुख छोपेर खितिती हाँसिन् ।

‘ठट्टा नगर न सोनिका !’ 

‘हो भन्या, मेरो यहाँ अरु कोही छैन । किन ठट्टा गर्छु र !’

`अनि किन आको त काठमाडौ, केहि काम छ र´ कृष्णले सोध्यो ।

`होइन मलाई बिहे गर्न मन लागेन अनि आको ।´ सोनिकाले भनी ।

‘ह्वाट ! भागेर पो आको?´ ‘घरमा खबरै नगरी, केटी मान्छे एक्लै यसरी काठमाडौँ आउनु हुन्छ? म नभेटेको भए?’ भन्दै कृष्णले थर्कायो ।

आजकल केटीहरु एक्लै चन्द्रमा मा त पुग्छन्, मलाइ राजधानी आउन के गाह्रो भयो र हौ?’ उल्तै सोनिकाले प्रतिउत्तर गरि ।

सोनिकालाइ गफ हान्न सम्माननीय प्रधानमन्त्री केपि ओलिज्युले त जित्न सक्नु हुन्न भन्ने त थाहा थियो कृष्णलाई ।

त्यही नि रिसाए जसरी भन्यो;`घरबाट भागेर आएको, केटिको म जिम्मा लिन सक्दिन । भोलि घर परिवारले पुलिसमा उजुरी गर्नु भयो र पुलिसले मैले राखेको थाहा पाएर मलाइ अपहरणकारी भनेर समायो भने, मेरो जिम्मा कसले लिन्छ?हुदैन, हुदैन म रिक्स लिन्न ।´

यत्तिकैमा सोनिकाले चिन्तित हुँदै भनि, `ठिकै छ, म यतै होटेलमा बस्छु, अनि भाउजुलाइ फोन गरेर तपाईंको भदाले बोलाउनु भएर म काठमाडौ आएको अहिले मेरो बिचल्ली पारेर, छोडेर जानू भयो अन्जान सहरमा भन्दिन्छु ।´

सोनिका होटेलको खोजी गर्न बसपार्कबाट निस्किन खोजी । कृष्णले उसको हात च्याप्प समाटेर तान्यो, अनि उ कृष्णको अङ्गालोमा आएर टासी । केही सेकेन्ड अङ्गालोमा रहेपछी सोनिका अङ्गालोबाट टाढिइ अनि भनी, `किन तान्नु  भएको, को हो र म?´

जवाफमा कृष्णले पनि भनिदियो, `म तिम्रो कृष्ण, अनि तिमी मेरो राधा । ´

सोनिकाले लजाउदै भनिन्, `छ्या, कस्तो फटाहा मान्छे तपाईं त, मलाइ लाने कि म जाउ होटेल तिर?´
`हिड जाउ, बाइकमा बस´ भन्दै सोनिकलाइ बाइकमा बसाएर कृष्णले बाइक चलाउन खोज्यो ।

बाइक चलाएर केहि पर पुगेपछी कृष्णलाई सोनिका अलि पर बसेको अनुभव भयो र सोनिकालाइ भन्यो, `ओइ अलि ओर बस न अहिले पछाडी लड्छौ । ´

सोनिकाले भनिहाली;`ओ, फटाहा मान्छे, म अरु केटि जस्तो होइन ल, लाइन हान्न नखोज्दा हुन्छ, तपाइसंग टासिएर बस भन्न खोज्नुभएको होला, होइन?तपाइ मेरो बुढा हो र टासिन? म त यहि बस्छु । ´

कृष्णले भन्यो ; `अहिले लड्यौ भने, अस्पताल लान म त सक्दिन है , छोडेर हिड्दिन्छु बाटोमै । छिटो अलि ओर मलाइ समाटेर बस ´ ।

सोनिका गनगन गर्दै, अफ्ट्यारो मान्दै अलि अगाडि सरि अनि कृष्णलाई च्याप्प समाटेर बसि । आफुले मन पराएकी युवतीको स्पर्षले कृष्ण निकै हर्षित भयो र बाइकलाइ रकेटको स्पिडमा कुदायो । सोनिकाले बिस्तारै कुदाउन आग्रह गर्दै थिइ तर उसको आग्रहलाइ समेत बेवास्था गर्दै बाइकलाइ रफ्तारमा कुदायो ।


क्र.म.स.


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।


कानूनः (कविता)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •