लघुकथा-अर्गानिक


लेखक : लेखापढी      २३ चैत्र २०७७, सोमबार २२:३७ मा प्रकाशित     
लघुकथा-अर्गानिक

राजेन्द्र शर्मा

“खाद्य बस्तु र तरकारीमा अत्याधिक प्रयोग भइरहेको विषादीलाई निरुत्साहित गर्नु आजको आवश्यकता हो । संविधानमा नै नागरिकको स्वास्थ्य सुरक्षा गर्नु राज्यको दायित्व हो भन्ने उल्लेख छ । तसर्थ हामी देशव्यापीरुपमै यस अर्गानिक तरकारी उत्पादन अभियानमा होमिएकाछौं । विषादी प्रयोग गरेर फलाएका तरकारी देख्दा चिल्ला र सलक्कै हुन्छन् । यस्ता तरकारी खानु विष खानु सरह नै हुन्छ । तसर्थ यहाँ उपस्थित सबै किसानले प्राकृतिक कीटनाशक विषादी र प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक तरकारी उत्पादन गरे पक्कै पनि यो अभियानले सफलता प्राप्त गर्नेछ । धन्यवाद !” भन्दै अभियानका प्रशिक्षक एवम् वरिष्ठ कृषि तथा खाद्य सुरक्षा अधिकारीले आफ्नो मन्तव्य प्रस्तुत गरेँ ।

उक्त अभियानमा सहभागी भएकी हरिकलाले प्राङ्गारिक मल र प्राकृतिक कीटनाशक विषादीको प्रयोग गरि तरकारी फलाउन थालिन् । तरकारी राम्रै फल्यो । बिक्रीका लागि पसल थापिन । तर पसलमा तरकारी किन्ने ग्राहक फाट्टफुट्ट मात्रै आउथे । अधिकांश ग्राहक भने कृत्रिम विषादी र अप्राङ्गारिक मल प्रयोग गरेर उत्पादन गरेका देख्दै चिल्ला र सलक्कै तरकारीमा लोभिन्थे ।

एकदिन एक जना ग्राहक उनको पसल तिर आउँदै थिए । उनी हेर्दा पढेँ लेखेको र देखे, चिनेको जस्तो लाग्यो हरिकलालाई ।

हरिकला बोलिन् , “अर्गानिक तरकारी सुपथ मूल्यमा लैजानुहोस् हजुर ।”

ग्राहकले तरकारी उल्टाइ पल्टाइ हेर्न थाले । केहीमा किरा लागेको थियो । उनले यो देखेर हरिकलालाई भनेँ, “कसै कसैमा किरा लागेको रहेछ त । के गर्ने होला ?”

ग्राहकको कुरो भुइँमा खस्न नपाउँदै हरिकलाले भनिन्, “अर्गानिक तरकारी हो हजुर । किरा नलागेको छानि छानि लिनुहोस् ।”

यतिकैमा ग्राहकले यताउति आँखा घुमाउन थाले । छेउमै अर्को तरकारी पसल थियो । बिक्रीका लागि सजाएर राखिएका तरकारी चिल्ला र सलक्कै देखिन्थे । उनी ती तरकारी तिर लोभिदैं हरिकलाको पसलमा नकिन्ने भन्दै उतै हुइकिए ।

हरिकलाको आँखामा भने ती ग्राहकको अनुहार नाचिरहेको थियो । कतै देखे, चिनेको लाग्ने ती को होलान् ? भन्ने प्रश्न मनमा खेल्न थाल्यो । यत्तिकैमा उनको नजर ती ग्राहकले भिरेको झोलामा पर्यो । हरिकलाले ती व्यक्तिलाई बल्ल चिनिन। झोलामा लेखिएको टाढाबाट प्रस्टै देखिन्थ्यो ‘प्रशिक्षक एवम् वरिष्ठ कृषि तथा खाद्य सुरक्षा अधिकारी, अर्गानिक तरकारी उत्पादन अभियान ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!