अनन्त पीडा: लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      २३ चैत्र २०७७, सोमबार २०:४४ मा प्रकाशित     
अनन्त पीडा: लघुकथा

“ओ हो ! कस्तो गाह्रो भएको ?” उहाँ आफू बसेको ठाउँबाट पीडामा कराइरहनु भएको थियो ।
रातको आठ बजिरहेको थियो । एकछिनमा छोराले अस्पताल फोन गर्छ ।

“अहिले विशेषज्ञ डाक्टर हुनुहुन्न । भोलि बिहान एकचोटि खबर गर्नुहोला ।” अस्पतालबाट जवाफ आयो ।

बिहानै उहाँलाई लिएर अस्पताल पुग्यौं ।

बिरामीको खल्तीको रुमाल, मोबाइल र पैसा सब दिइन्छ । एक छिनमा एक सम्झौता –पत्रमा हस्ताक्षर गराइन्छ ।

आइसीयू बाहिर आएका डाकटरले आफ्नो कक्षमा बोलाएर भन्न थाले, “उहाँको अवस्था राम्रो छैन । तपाईँहरू जुनसुकै अवस्थाका लागि पनि तयार बस्नुहोला ।”

यो सुनेर मन अतासियो तर अस्पताल बाहिर भएका परिवार र आफन्तजन देखेपछि मनको पीडा मनमै रह्यो ।

एकछिनमा उहाँलाई भेन्टिलेटरमा राखिन्छ । बाहिरबाट हेरेको, कस्तो शान्त अनुहार, मस्त निन्द्रामा भएजस्तो । बाह्र घण्टापछि छोरा र मलाई बोलाइयो र भनियो, “उहाँ यस संसारमा हुनुहुन्न । हाम्रो प्रयास सफल हुन सकेन ।”

उहाँ मस्त निन्द्रामा जस्तो हुनुहुन्थ्यो, अब त्यहाँबाट लामो निन्द्रामा गइसक्नु भयो । हामी मनभरि पीडा लिएर अन्तिम दर्शनका लागि आइसीयूमा पुग्यौं ।

पीडाको बाँध पोखियो र छताछुल्ल भयो परिवेशभरि ।

म रोइरहेकी थिएँ र सारा आफन्त मलाई सम्झाइरहेका थिए । बाहिर नरोए पनि उनीहरुका आँखा भरिएका थिए ।

“आमा ! म छँदैछु नि ।” छोरा भनिरहेछ । म पीडाबाट मुक्त हुन सकिँन ।

सोच्छु, छोरा त साथमा छ तर मेरो सिउँदो त अब उजाड मरुभूमि भैसक्यो ।

आज जबजब उहाँको याद आउँछ त्यतिखेर म सम्झन्छु, त्यही ज्यानमारा अस्पताल, आइसियू अनि भेन्टिलेटेर ।


इन्दिरा ढकाल

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •