नगेन्द्रराज शर्माको राष्ट्रिय अभिनन्दन सम्पन्न


लेखक : लेखापढी      २३ चैत्र २०७७, सोमबार २३:४५ मा प्रकाशित     
नगेन्द्रराज शर्माको राष्ट्रिय अभिनन्दन सम्पन्न

२३ चैत्र, काठमाडौं- वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको राष्ट्रिय अभिनन्दन यही २०७७ चैत २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भयो । कार्यक्रमको प्रारम्भमा शर्मालाई गाजाबाजा सहित सभाकक्षमा प्रवेश गराइएको थियो ।

अभिनन्दन समितिका संयोजक पवन आलोकको अध्यक्षतामा सम्पन्न अभिनन्दन समारोहको प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी थिए । पुष्पा खनालले अभिनन्दन कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
प्रमुख अतिथि सत्यमोहन जोशीबाट अभिन्दित प्रतिभा नगेन्द्रराज शर्मालाई दोसल्ला ओढाउनुका साथै अभिनन्दन पत्र प्रदान गरिएको थियो । अभिनन्दन मूल समारोह समितिका सदस्य श्रीओम श्रेष्ठ रोदनले अभिनन्दन पत्र पढेर सुनाएका थिए ।
विभिन्न ४६ संघसंस्थाले शर्मालाई अभिनन्दन पत्र, फूलमाला तथा पुष्पगुच्छा प्रदान गरेपछि उनका विषयमा तयार पारिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो । प्रमुख अतिथि जोशीले नगेन्द्रराज शर्माका समग्र आख्यान कृतिको पुस्तक एवम् यायावर पुस्तकको विमोचन गरेका थिए ।

अभिनन्दन समारोहका लागि सहयोग गर्नेहरुको नामावली पढेर सुनाउने काम अभिनन्दन समितिका सदस्य देविका तिमिल्सिनाले गरेका थिए भने विशिष्ट अतिथि रमा शर्माले नगेन्द्रराज शर्माको साहित्यिक योगदानका विषयमा प्रकाश पारिन् ।
अभिनन्दित व्यक्तित्व नगेन्द्रराज शर्माले आफ्ना जीवनका अनेक घटना र आफ्ना सहयोगी मित्रसँगको सहकार्यका साथै आफूले गरेको कामको चर्चा गरेका थिए । प्रमुख अतिथि सत्यमोहन जोशीले आफ्नो मन्तव्यका क्रममा नगेन्द्रराज शर्माले नेपालको साहित्यिक पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । अभिनन्दन मूल समारोह समितिका सदस्य किशोर पहाडी धन्यवाद ज्ञापनपछि समारोहका अध्यक्ष पवन आलोकले समापन मन्तव्य दिएका थिए ।
कार्यक्रममा गोविन्द गिरी प्रेरणाले तयार पारेको नराशको सङ्क्षिप्त जीवनी वितरण गरिएको थियो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!