मातृका पोखरेलको कविता


मातृका पोखरेलको कविता

म तिम्रा कविताको विरूद्धमा लेख्छु 

एक गाँस पाउने आशामा
एउटा निर्वस्त्र नाङ्गो मान्छेलाई
सभ्य मान्छे भन्दै तिमी जब कविता लेख्छौ
अलिकति दान पाउने लोभमा
जब तिमै पैसावालहरूको अर्चना गाउँछौ
मैले कविताको मूल्य राखन
तिम्रा कविताकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिम्रो नियतकै विरूद्धमा
कविता लेख्नैपर्छ
तिमी पसिनाका थोपाहरूमा कुँदिएका कविता
जसरी मन पराउँदैनौ
म पनि सिंगमरमरको भर्‍याङ चढ्दै
कुनै सजाइएको बैठकमा
मेरा प्रिय पसिनाका थोपाहरू
कुल्चने योजनामा सरिक कविता
त्यसैगरी घृणा गर्छु
म तिम्रा कविताको मृत्यु घोषणा गर्छु
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

मैले पढिराखेको छु
पल्टु थारूले दिएको
गुन्द्री र मान्द्रो ओछ्याएर
जब तिम्रा रातहरू बित्थे
कति सुन्दर थिए कविता
मैते कामीले दिएको
भुटेको मकै खाएर
जब तिमी भोक मार्थ्यौ
त्यसपछि लेखेको कविता
नेपालको आफ्नै कविता हुन्थ्यो
तिमी नेपाल फेर्ने कविता लेख्थ्यौ
कति सुन्दर थियो कविता
हिजोआज तिमी त्यही कवि
पजेरो चढेर शहर घुम्छौ
जनताका झुप्रामा रमाउने तिमी
बैंककबाट सिंगमरमर झिकाउँछौ
र दरबार बनाउँछौ ।

अचेल जनता तिम्रा कविता बुझ्दैनन्
तिमी दरबारकै जस्तो कविता लेख्छौ
या जनताले नबुझ्ने कविता लेख्छौ
हरेक वस्तुका दुई कित्ताहरूझैं
अचेल तिमी एउटा कित्ताको पक्षमा लेख्छौ
म अर्कै कित्ताको पक्षमा बोल्छु
तिमी नौनीझैं नरम हातहरूको पक्षमा लेख्छौ
म ठेला उठेका हातहरूको पक्षमा बोल्छु
हामी फरक बाटोका यात्रीहरू
तिमी मेरो कविताका विरूद्धमा लेख्छौ
म तिम्रा कविताकै विरूद्धमा लेख्छु ।

म यतिबेला
पल्टु थारूको छानो चुहिएको बेला
शासकहरू बस्तीभित्र पसेर
देवी खड्कालाई बलात्कार गरिरहेको बेला
दरबारको अट्टालिकामा घुम्ने
कुनै राजकुमारीका यौनका व्यथाहरू
म कसरी लेख्न सक्छु ?
म मैते कामीको अँगेना नबलेको बेला
आफन्तहरूको दलान उजाडिएको बेला
कसरी लेख्न सक्छु काजीसाहेबको खुशी
नेपालीहरूको आँगन टुक्रिएको बेला
मेची, महाकाली लुटिएको बेला
कसरी लेख्न सक्छु हिलारी क्लिन्टनको महिमा ?
तिमी जति गाली गर्छौ गर
म कविताको इज्जतका लागि लेख्छु
म तिम्रै कविताका विरूद्धमा लेख्छु ।

 

(कवि मातृका पोखरेल नेपाली कविता एवम् कथा लेखनमा सिद्धहस्त हस्ताक्षर हुन् ।)