विराज महर्जनले फुटबलबाट लिए सन्यास: प्रधानमन्त्री ओलीले ब्लेजर लगाइदिएर बिदाई गरे


विराज महर्जनले फुटबलबाट लिए सन्यास: प्रधानमन्त्री ओलीले ब्लेजर लगाइदिएर बिदाई गरे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विराज महर्जनले आज अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । त्रिदेशीय फुटबलको फाइनल खेलसँगै उनले सन्यास लिएका हुन् ।

बंगलादेशविरुद्धको फाइनलमा उनको सन्न्यास घोषणा गरिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्लेजर लगाइदिएर राष्ट्रिय टोलीबाट बिदाइको घोषणा गरेका हुन् । उनले सन् २००८ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका गरेका थिए ।

३३ वर्षीय महर्जन उनको कप्तानीमा नेपालले दुई ठूला उपाधि जितेको थियो । बंगबन्धु गोल्डकप र १२औँ सागमा फुटबलको स्वर्णपदक नेपालले विराजकै कप्तानीमा जितेको थियो ।

विराजलाई पछिल्लोपटक राष्ट्रिय टोलीमा राखिएको थिएन । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय फुटबलमा उपाधि जितेका कारण विराज सफल कप्तान भनेर चिनिन्छन् ।

क्लब करियर 
वि.सं २०७६ मा मच्छिन्द्र क्लबले ‘ए’ डिभिजन लिग जित्दा विराज महर्जन मुख्य खेलाडी थिए । लिगमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि दिलाए । मनाङ–मर्स्याङ्दी क्लबबाट उनी मच्छिन्द्र पुगेका हुन् ।

मछिन्द्रबाट फुटबल करियरको सुरुआत गरेका उनले सन् २००७ मा घरेलु क्लब थ्रीस्टारबाट लिग खेलेका उनले सन् २०१२/१३ मा थ्रीस्टारबाट लिग जित्न सफल भए । उनको क्लब यात्रा थ्रीस्टारबाटै सुरु भएको थियो ।

विराज सन् २०१६ मा मनाङ–मर्स्याङ्दीमा अनुबन्ध भए । ०७५ सालमा मनाङको लागि लिग उपाधि जिते । ०७६ मा मच्छिन्द्र पुगे । क्लब करियरमा भने विराजलाई अझै केही समय देख्न पाइनेछ ।