नियात्रा: भारतमा पहिलो कार्यक्रममा सहभागिता हुँदाका पल । शृंखला २


[ss_social_share]
लेखक : लेखापढी      १४ चैत्र २०७७, शनिबार १३:४० मा प्रकाशित     
नियात्रा: भारतमा पहिलो कार्यक्रममा सहभागिता हुँदाका पल । शृंखला २
रेलमा अत्यन्त भीड थियो । हामी भीड छिचोल्दै सिटसम्म पुग्यौं । हाम्रो सिटमा बसेका मानिसलाई उठाएर हामी सिटमा बस्यौं । भीड यति थियो कि खुट्टा राख्ने पनि ठाउँ थिएन् । हामीले हाम्रा झोला आआफ्ना काखमा अनि सिटको तल राख्यौं । रेलमा बस्दा टाउको यताउता गर्न पनि सकिँदैनथ्यो । भीड थियो, भीडसँगै हल्ला पनि थियो । हामी चुपचाप बसिरह्यौ । रेल दौडिरह्यो, मेरो मन पनि दौडियो । रेल लाइनका वरपरका इलाकामा पुराना खण्डहर हुन लागेका घर अनि नाङ्गा रुख देखिन थाले । घर वरपर केही मानिस देखिन थाले । मन त्यसै उदास भयो । भाइटिकाको दिन थियो, घरको याद आयो । भाइबहिनीको याद    आयो । मनमा पीडाका अनुभूति साँचेर म चुपचापचुपचाप बसिरहेँ ।  नारनौल पुग्नु अघि सक्सेनाले बिस्तारै सिटबाट ढोकासम्म पुग्न भनेपछि हामी त्यही अनुसार अघि बढ्यौं ।
“अरे क्योँ धक्का दे रहे हो ।”(अरे किन धक्का दिइरहेका छौ ?) कतिपयले हामीलाई पछाडि धकेल्थे ।
“मेरे पावँ क्योँ कुचल रहे हो, पिछे हटो ।” (किन मेरो खुट्टा कुल्चिरहेका छौ ? पछाडि जाऊ ।) कतिले खुट्टा कुल्चेकोमा गाली गर्थे ।
आफू त जसोतसो अघि बढिन्थ्यो, झोला पछि हुन थाल्यो । त्यसपछि हामीले टाउकोमा झोला राखेर अघि बढयौं । १० पाइलाको बाटो पन्छाउन आधा घन्टा लाग्यो ।
 “अरे बाबुजी ! ओ बाबुजी । पिछे हटो, पिछे हटो ।  हमेँ क्योँ खडे होने देते । हमारे बच्चे रो रहे है ।”(अरे बाबुजी, ओ बाबुजी । पछाडि जानुहोस्, पछाडि जानुहोस् । हामीले किन उभिन दिनुहुन्न । हाम्रा बच्चा रोइरहेका छन ।) राजस्थानका स्थानिय बन्जारन महिलाले हामीलाई गाली गर्दै, सम्झाउँदै पछाडि जान भन्न थालिन् । उनी राजस्थान, जयपुर जाने । हामी त्यसभन्दा पहिल्यैको स्टेशनमा राजस्थानको सीमासँग जोडिएको हरियाणाको नारनौलमा उत्रने । त्यतिखेरको हाम्रो तत्कालीन लक्ष्य थियो, जसरी पनि ढोकासम्म पुग्ने । आफू त जसोतसो अघि बढिन्थ्यो, झोला पछि हुन थाल्यो । त्यसपछि हामीले टाउकोमा झोला राखेर अघि बढयौं । १० पाइलाको बाटो पन्छाउन आधा घन्टा लाग्यो ।
हामी पुग्ने बित्तिकै फूलमालाले स्वागत गरियो । त्यसपछि एक आपसमा परिचय आदानप्रदान भयो ।
 रेल स्टेशनमा उत्रँदा मन, शरीर सब थाकिसकेको थियो । हामी त्यहाँ पुग्दा रातको १२.३० बजेको थियो । हामीलाई स्वागत गर्न मनमुक्त मानव मेमोरियल ट्रष्टका प्रमुख डा. रामनिवास मानव आउनु भएको थियो । उहाँसँगै एक टोली थियो । हामी पुग्ने बित्तिकै फूलमालाले स्वागत गरियो । त्यसपछि एक आपसमा परिचय आदानप्रदान भयो । यसै क्रममा राज सक्सेनाले डा. मानवलाई भन्नुभयो, “भाइसाब ! इस यात्रा ने हमारी कमर हि टेढी हो गर्ई ।”(भाइसाहब ! यो यात्राले मेरो कमर नै टेढो भयो ।)
डा. मानवले भन्नुभयो, “रातको आराम करो । सुबह तक ठिक होगी ।” (रातमा आराम गर्, बिहान राम्रो होला !)
उनीसँग नेपाल–भारत सांस्कृतिक सम्बन्धका साथै नारनौलको ऐतिहासिक पृष्ठभूमि, पर्यटकीय स्थल एवम् साहित्यिक माहौलका बारेमा चर्चा भए ।
हामीलाई एक जीपमा राखियो र लगियो सिन्धी भवन । यस धर्मशालामा हाम्रो वास हुने रहेछ । हामीलाई जीपमा राखेर लगिरहेक थिए डा. शिवताज सिंहले । उनी स्वयं लेखक, समालोचक थिए । उनीसँग नेपाल–भारत सांस्कृतिक सम्बन्धका साथै नारनौलको ऐतिहासिक पृष्ठभूमि, पर्यटकीय स्थल एवम् साहित्यिक माहौलका बारेमा चर्चा भए । रातमा हामीलाई धर्मशालाको कोठामा छोडेर उहाँहरू भारतका विभिन्न प्रान्तबाट आएका पाहुनाहरूलाई लिन जानुभयो ।

२२ अक्टोबर २०१७ को दिन । कार्यक्रम हुने दिन । बिहानको नास्ताको व्यवस्था धर्मशालामा थियो । हामीले त्यहीँ चियानास्ता गर्यौं । कार्यक्रम स्थल त्यहाँबाट दुई तीन किलोमिटर टाढा थियो । हामीलाई हाम्रो आफ्नै राष्ट्रिय पोशाकमा आउन भनिएको थियो । हामी नेपाली पोशाकमा थियौं । कार्यक्रममा आएका भारतीय पाहुनाहरुसँग भलाकुसारी भयो । यसै क्रममा हामीलाई लिन जीप आएपछि हामी कार्यक्रम स्थलमा पुग्यौं ।

एक प्राइभेट कलेजको प्राङगणमा पाल टाँगिएको थियो । हामी कार्यक्रम हुने स्थानमा पुग्यौँ ।

कार्यक्रम स्थलमा मानिस जम्मा हुने क्रम जारी थियो । एक प्राइभेट कलेजको प्राङगणमा पाल टाँगिएको थियो । हामी कार्यक्रम हुने स्थानमा पुग्यौँ । मञ्चको तल कुर्सीहरु राखिएका थिए । हामी एक ठाउँमा गएर बस्यौं । एक जना आयोजकले हाम्रा लागि अलग स्थान निर्धारित गरिएकोले अगाडि आउन आग्रह गरे ।

कार्यक्रम स्थलको पहिलो लाइनमा सबैभन्दा पहिले नेपाली साहित्यकारका लागि स्थान निर्धारित गरिएको थियो । सो स्थानमा कुर्सीसँगै हाम्रा नाम टाँसिएका थिए । हामी हाम्रो नाम लेखिएको ठाउँमा बस्यौं । मैले देखेँ, कार्यक्रममा सहभागी हुने सबै अतिथिको नाम कुर्सीमा लेखिएको छ र जसको नाम जहाँ छ, उसले त्यहीँ बस्नुपर्ने भयो । आयोजक एवम् स्थानिय मानिसका लागि अलग स्थान निर्धारित गरिएको छ । अतिथिको लाइनको पछाडिको भाग र अतिथिको लाइनभन्दा अर्को लाइन स्थानियका लागि छुट्याइएको थियो ।

कार्यक्रममा डा. रमानन्द शर्माको मन्तव्य प्रभावकारी थियो । उनले यो कार्यक्रमको आयोजक संस्था, संस्थाका गतिविधि र यी गतिविधिसँग आफू कसरी जोडिएँ भन्ने कुरा बताए ।  

कार्यक्रम हुनुभन्दा पहिलेको समय शुन्य भएपछि आयोजकले रचना वाचन र मन्तव्य कार्यक्रम राख्यो । सो कार्यक्रममा डा. रमानन्द शर्माको मन्तव्य प्रभावकारी थियो । उनले यो कार्यक्रमको आयोजक संस्था, संस्थाका गतिविधि र यी गतिविधिसँग आफू कसरी जोडिएँ भन्ने कुरा बताए ।  त्यस्तै डा. प्रभा पन्त र अग्नि शेखरको मन्तव्य,  डा. ममता शर्माले कविता पाठ एवम् लक्ष्मीप्रसाद भट्टको गीत प्रस्तुत भयो ।  केही समयमा कार्यक्रमका प्रमुख अतिथिहरूको आगमनसँगै कार्यक्रममा रौनक थपियो ।

कार्यक्रमको अध्यक्षता डा. वीरपालसिंह चौहान  (डिजीपी) ले गर्नुभयो । मुख्य अतिथिका रुपमा त्यहाँका सांसद चौधरी धर्मवीर सिंहलाई आसन ग्रहण गराइयो ।

इन्डो नेपाल विशिष्ट प्रतिभा सम्मान नाम दिइएको यस कार्यक्रममा भारतका १९ राज्य एवम् नेपालका हामी चार जना सहभागी थियौं । कार्यक्रमको उद्घोषण गरे डा. पंकज गौडले । उनी आफ्नो उद्घोषणका साथै बिचबिचमा  साना कविता एवम् मुक्तक समेत भन्ने गर्दथे । सब कण्ठ थियो उनलाई । कुनै कागज नहेरेर खराखरी आफ्नै मनमोहक अन्दाजमा उनले रचना पढदा मानिस मन्त्रमुग्ध हुन्थे । कार्यक्रमको अध्यक्षता डा. वीरपालसिंह चौहान  (डिजीपी) ले गर्नुभयो । मुख्य अतिथिका रुपमा त्यहाँका सांसद चौधरी धर्मवीर सिंहलाई आसन ग्रहण गराइयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिमा गोविन्द भारद्वाज हुनुहुन्थ्यो भने अतिथिमा दलेर सिंह (कुलपति, ओपिजीयस विश्वविद्यालय, राजस्थान), डा. हमिद अख्तर, डा. अमित गुप्ता (कार्यस्थलको कलेजका प्रिन्सिपल), डा. रामनिवास मानव (आयोजक संस्थाका प्रमुख), डा. एसपी गुप्ता एवम् डा. डिपी गुप्ता, डा. डिपी वत्स हुनुहुन्थ्यो ।

हिन्दीमा विद्यावारिधि एवम् डिलिट गरेका डा. मानवका रचना सत्र भाषामा अनुवाद भएको, उनका बारेमा सत्र विद्यावारिधि एवम् ५० एमफिल शोध भएको जानकारी दिइयो ।

यस कार्यक्रमका अतिथि एवम् सहभागीलाई कलेजका प्र्रिन्सिपल डा. अमित गुप्ताले स्वागत गर्नुभएको थियो भने आयोजक संस्थाका अध्यक्ष डा. रामनिवास मानवले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुका साथै संस्थाका गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले संस्थाका अगामी कार्यक्रम बारेमा पनि प्रकाश पार्नुभएको थियो । उदघोषक गौडले कार्यक्रममा आयोजक संस्थाका प्रमुख डा. रामनिवास मानवको योगदानको चर्चा गर्नुभयो । हिन्दीमा विद्यावारिधि एवम् डिलिट गरेका डा. मानवका रचना सत्र भाषामा अनुवाद भएको, उनका बारेमा सत्र विद्यावारिधि एवम् ५० एमफिल शोध भएको जानकारी दिइयो । कार्यक्रमको प्रारम्भमा भारत र नेपालका सामाजिक जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने ६० प्रतिभालाई सम्मान गरिएको थियो । सबैभन्दा पहिले नेपालबाट गएका हामी चार जना वीरबहादुर चन्द, डा.पुष्करराज भट्ट, हरिशप्रसाद जोशी एवम् लक्ष्मीप्रसाद भट्टलाई सम्मान गरियो । यसरी सम्मान गर्ने बेला सम्मानित व्यक्तिको संक्षेपमा परिचय र योगदानका बारेमा बताइएको थियो । नेपालका साहित्यकारपछि भारतका विभिन्न प्रान्तबाट आएका ५६ जनालाई सम्मान गरियो । साहित्य, कला, समाजसेवा, खेलकुद, घरेलु उद्योग लगायतका विभिन्न क्षेत्रका प्रतिभालाई सम्मान गरियो ।    

सम्मान कार्यक्रमपछि मन्तव्यको कार्यक्रम रह्यो । कार्यक्रममा डा. लालचन्द्र गुप्त मंगलले सारगर्भित विचार राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि चौधरी धर्मवीर सिंहको मन्तव्य प्रभावकारी थियो । उहाँले कला, संस्कृतिको महत्वका बारेमा राम्रो प्रकाश पार्नुभयो । चौधरीले सामाजिक विकासमा कलासाहित्यको योगदानको चर्चा गर्नुभयो । समारोहमा उहाँको मन्तव्य कुनै साहित्यकारको भन्दा कम थिएन । कार्यक्रम दुई घन्टा चल्यो । कार्यक्रमपछि कलेजमा भोजनको व्यवस्था गरिएको थियो । कार्यक्रमपछि भारतका कतिपय प्रान्तबाट आएका अतिथि आफ्नो गन्तव्यतिर लागे भने हामी लगायत केही सहभागी भोलि मात्र घर फर्कने सोचमा पुग्यौं ।

आफ्नो काव्यिक मन्तव्यका साथै हरेक साहित्यकारलाई मञ्चमा बोलाउनु अघि परिचय दिने उनको कलाबाट म प्रभावित भएँ ।

हामी खाना खाएर धर्मशालामा पुगेर आराम गरिरहेका थियौं, हामीलाई खबर आयो, साँझ मनुमुक्त मानव भवनमा साहित्यिक गोष्ठी हुँदैछ । साँझ हामीलाई लिन जीप आयो । हामी मनुमुक्त भवनमा पुग्यौं । त्यहाँ २०–३० सहभागी थिए । दिउँसोको कार्यक्रमका सहभागी धेरैजसो सहभागी आफ्ना घर गइसकेका थिए । स्थानिय साहित्यकार र केही बाहिरबाट आएका साहित्यकार मात्र समावेश थिए । साहित्यिक गोष्ठीको आरम्भ गरिन् डा. प्रभा पन्तले । उत्तराखन्डकी यी साहित्यकार नेपालमा पनि धेरै कार्यक्रममा आइसकेकी छिन् । उनीसँग हामी पूर्व परिचित थियौं । आफ्नो काव्यिक मन्तव्यका साथै हरेक साहित्यकारलाई मञ्चमा बोलाउनु अघि परिचय दिने उनको कलाबाट म प्रभावित भएँ । कार्यक्रममा आएका सबैले आआफ्ना रचना पाठ गरे । मैले पनि एक लघुकथा पाठ गरेँ । कार्यक्रमको समापनपछि हाम्रो भोजन मनुमुक्त भवनमा भयो ।

अब हामी रह्यौं तीन जना । हामी पनि बिहानै नारनौलबाट गुरुग्राम हुँदै बनवासाका लागि लाग्यौं ।

त्यहाँबाट हामीलाई धर्मशालासम्म जीपमा पुर्याइयो । हामी रातको ९ बजे धर्मशालामा पुग्यौं । हामी नेपालबाट त्यहाँ जाँदा चार जना र खटिमाबाट एक जना गरेर पाँच जना थियौं । अब भने हाम्रो टोलीको यात्राको गन्तव्य फेरियो । दिउँसोको कार्यक्रमपछि राज सक्सेना आफ्नो छोरा भएको ठाउँ चेन्नई जानुभयो । हरिशप्रसाद जोशी साँझ नै आफ््नो भतिजाकहाँ दिल्ली जानुभयो । अब हामी रह्यौं तीन जना । हामी पनि बिहानै नारनौलबाट गुरुग्राम हुँदै बनवासाका लागि लाग्यौं । त्यहाँबाट आआफ्नो घर जानु त छँदै थियो । यसरी पहिलो पटक भारतको कुनै कार्यक्रममा भाग लिएको यी पल आज पनि स्मरणीय छन् ।


डा.पुष्करराज भट्ट
धनगढी


नियात्रा: भारतमा पहिलो कार्यक्रममा सहभागिता हुँदाका पल । शृंखला १

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •