काठमाडौंमा आज वर्षकै उच्च वायुप्रदूषण: मौसम सुधार हुन समय लाग्ने


काठमाडौंमा आज वर्षकै उच्च वायुप्रदूषण: मौसम सुधार हुन समय लाग्ने

देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ ।

वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको बताउनुभयो ।

शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।

विभागले प्रदूषणको दर दैनिकजसो बढ्दै गएको भन्दै सतर्क रहन र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । वातावरण विभागको तथ्याङक अनुसार काठमाडौं, सौराहा , सिमरालगायतका सहरको वायुप्रदूषण अति हानिकारक स्तरमा पुगेको छ । विभागले नियमितरुपमा वायुको प्रदूषण मापन गर्दै आएको छ ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।

पानी पर्नका लागि न्युन चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । ‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ, भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्‍यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

 

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताउनुभयो ।    
    
उहाँका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ । 

तस्विरः गाेरखापत्र दैनिक(सागर बस्नेत)