जनप्रिय नेता, ‘सादा जीवन उच्च विचारक’ कांग्रेश नेता नविन्द्रराज जोशीको निधन


[ss_social_share]
लेखक : लेखापढी      १३ चैत्र २०७७, शुक्रबार २२:४७ मा प्रकाशित     
जनप्रिय नेता, ‘सादा जीवन उच्च विचारक’ कांग्रेश नेता नविन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको ५७ वर्षको उमेरमा निधन भएको छ ।  नर्भिक अस्पतालमा उपचाररत् नेता जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको अस्पतालले जनाएको छ । एक्कासि मस्तिष्काघात भएर फागुन १४ गते अस्पताल भर्ना भएका जोशीको शुक्रबार निधन भएको हो ।

गत फागुन १४ राति १२ बजे बायाँ हात चल्न छाड्यो मलाई अस्पताल लैजाऊ भनेपछि परिवारले वीर अस्पताल पुर्‍याएको थियो । करिब दुई घण्टा वीर अस्पतालमा गरिएको उपचार प्रयासमा मस्तिष्काघात पुष्टि भएको थियो । वीर अस्पताल पुग्दासम्म परिवारका सदस्यसँग होसमै कुरा गर्दै पुगेका जोशी अस्पताल पुगेपछि भने बेहोस भएका थिए । सिटी स्क्यान गर्दा मस्तिष्काघात पुष्टि भएपछि नर्भिक पुर्‍याउँदा जोशीको अवस्था थप बिग्रएको थियो । उनलाई बान्ता भएको र  फोक्सोमा बान्ता छिरेको तथा मस्तिष्कमा भएको रक्तश्रावले निकास अवरुद्ध हुँदा पानी जमेका थियो ।

जोशी नेपाल विद्यार्थी संघको साधारण सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य र नेपाल सरकारको उद्योगमन्त्रीसम्म भए । सानो छँदादेखि नै सर्वमान्य नेता गणेशमान सिंहको सानिध्यमा हुर्कने अवसर पाएका जोशी कम उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्ति हुन् ।

पिता गजेन्द्रराज र आमा गीताका पुत्रका रुपमा उनी २०१८ असार ३ गते काठमाडौंमा जन्मिएका हुन् । उनी नेपाल विद्यार्थी संघको साधारण सदस्य, काठमाडौं जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै महामन्त्रीसम्म भएका थिए ।

नेपाली कांग्रेस काठमाडौंका सचिव भएर काम गरेका जोशी २०४९ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपमेयर भएर काम गरेका थिए । काठमाडौं क्षेत्र नम्बर ८ बाट दुईपटक संविधानसभामा सदस्य  निर्वाचित भएका जोशी जनतासँगको सम्बन्धबाट सधैं प्यारो नेताको पहिचान बनाएका थिए । प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो स्थानीय चुनावमा ०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशीले मेयरमा निर्वाचित भएका पीएल सिंहसँग पाँच वर्ष स्थानीय जनप्रतिनिधि भएर ०५४ सालसम्म काम गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका जोशी संविधानसभाको ०६४ र ०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका थिए ।

०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका जोशीले नेपाल औषधि कम्पनी पुनःस्थापित गरेर चर्चा कमाएका थिए । जोशीले बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने नीति मात्र ल्याएनन्, नेपाल औषधि लिमिटेडको सञ्चालन नै गरेपछि उनको चर्चा चुलिएको थियो ।

०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि लगानी सम्मेलनको संयोजक भएर काम गरेका जोशीले १४ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता ल्याएपछि जोशीको कम बोल्ने र काम गरेर देखाउने नेताको पहिचान बनेको थियो । यद्यपि, पछि विभिन्न कारणले प्रतिबद्धताअनुरुप लगानी भित्रन भने सकेन ।

‘जनतासँग कहिल्यै टाढा बस्दिनँ र चुनाव हार्दिनँ’ भन्दै आत्मविश्वास देखाउने जोशी ०७४ को निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको एकता र कम्युनिस्ट पार्टीको लहरका कारण ३५४ मतको झिनो मतान्तरबाट एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । जोशीले ‘चुनाव हार्दैमा नेताको जनताप्रतिको दायित्व सकिँदैन’ भन्ने मान्यता बनाएका थिए । पराजित भए पनि जोशी आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भए ।

जोशीले कोरोनाभाइरसको संक्रमण चुलिएको समयमा कोरोना परामर्शका लागि जनस्वास्थ्यविद्सहितका डाक्टरहरुको टिम बनाए । ती डाक्टरहरुले परामर्श दिने सेड्युल बनाए र नागरिकलाई परामर्शका लागि सम्पर्क गर्न नम्बर सार्वजनिक गरिदिए । मास्क, स्यानिटाइजर र कोरोनाबारे जानकारीमूलक पर्चा बनाएर लकडाउनमै उनले आफ्नो क्षेत्रका नागरिकमा जनचेतना अभियान चलाएका थिए । भौतिक दूरी काम राख्दै घरदैलो अभियान नै चलाएर कोरोनाबाट त्रस्त मानिसमा आशा जगाएका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •