नक्कली नोट र मेसिन सहित काठमाडौँबाट दुई जना पक्राउ: युट्युब भिडियो हेर्दै बनाए


लेखक : लेखापढी      १२ चैत्र २०७७, बिहीबार १५:१० मा प्रकाशित     
नक्कली नोट र मेसिन सहित काठमाडौँबाट दुई जना पक्राउ: युट्युब भिडियो हेर्दै बनाए

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु दुवै साथी रहेको खुलेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीलाई उनी जाली नोट (नक्कली) नोट लिएर तरकारी किन्न पुगेको पूर्वसूचना थियो । गए राति माया कलंकीस्थित फुटपाथमा तरकारी किन्न पुगेकी थिइन । प्रहरीले मायालाई नियन्त्रणमा लिदा साथबाट नौथान ५०० का जाली नोट फेला पर्‍यो ।

मकवानपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१३, बाफल बस्दै आएका ३९ वर्षीया माया तामाङ र  रौतहटको गुजरा नगरपालिका–२ घर भई कीर्तिपुर नगरपालिका–३ बस्दै आएका ३५ वर्षीय गनबहादुर लोप्चान छन् ।

प्रहरीले पक्राउ गरेर मायाकै बयानका आधारमा प्रहरीले गनबहादुरलाई कीर्तिपुरस्थित उनकै कोठाबाटै पक्राउ गर्‍यो । प्रहरीले उनको साथबाट एक हजार दरका ५१ थान जाली नोट, ५०० दरका ५७ र १०० दरका दुईथान जाली नोट बरामद गर्‍यो । यसबाहेक पैसा छाप्ने प्रिन्टर, फोटोकपी कागज, पेपर कटर, स्केल, मोबाइल, ल्यापटप र प्रिन्टर मसी पनि बरामद गरेको छ ।

गनबहादुर ज्यामी काममा संलग्न थिए । कोरोना महामारी सुरु हुनुअघि उनले माइक्रोबस किने । महामारी सुरु भएपछि माइक्रो चल्न सकेन । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले भने, “हामीले सोधपुछ गर्दा बस किनेको र कोरोना महामारीपछि बस बेचेको र जीवन चलाउनै मुस्किल भएपछि नक्कली नोट बनाउन लागेको बताएका छन् । हामी थप पाटो अनुसन्धान गरिरहेका छौँ ।”

बस बेचेपछि उनले आर्थिक भारबाट छिटो उन्मुक्तिको बाटो खोजे । तर, त्यही उन्मुक्तिको बाटो खोज्दा उनी प्रहरी हिरासतमा पुगेका छन् । गनबहादुरले प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भनेका छन्, “पैसा कमाउन बाटो खोजीरहेको थिएँ । त्यसपछि युट्युबमा नक्कली नोट कसरी बनाउन सकिन्छ भन्ने भिडियो हेर्न थालेँ । भिडियोमा सबै आइडिया रहेछ । मैले पनि भिडियोमा भनेअनुसारका सामान तयार गरेर नोट छाप्न सुरु गरेँ ।”

उनीहरुले २० दिन अघि देखि मात्र नक्कली नोट बनाउने काम गरेको बताएका छन् भने रातको समयमा मात्र नोटको कारोबार गर्ने गरेको बताए ।
-१२खरी 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •