चस्मा लाउनुभो (बालकविता)


चस्मा लाउनुभो (बालकविता)

किताब पढ्न बाबालाई मुस्किल भएछ
`म´ भनेर पढेको `भ´ पो रहेछ
अस्पतालमा गएर जँचाई आउनुभो
आँखा कमजोर भएर चस्मा लाउनुभो

आँखाको राेग अरुलाई सर्छ भनेर
कसिङ्गर आँखामा पर्छ भनेर
क्याम्पस पढ्न गएका ठूल्दाइ आउनुभो
आँखा दुख्यो भनेर चस्मा लाउनुभो

नयाँ झोला भिरेर छाता ओढेर
सट पाइन्ट लाएर कपाल छोडेर
हाँस्दै-हाँस्दै मुसुक्क दिदी आउनुभो
राम्री हुन टाउकामा चस्मा लाउनुभो

मोटर साइकल चढेका स्यानो बुवाले
भन्नुभयो `अत्यायो पिरो धुवाँले´
हरन् टुइँय्य बजाउँदै फर्की आउनुभो
हावा छेक्न भनेर चस्मा लाउनुभो

कपालबाट बुरुर्र धूलो झरेछ
बिझाएर आँखामा गर्नु गरेछ
बिच‌ै बाटो फर्केर मामा आउनुभो
धूलोबाट जोगिन चस्मा लाउनुभो

`हेर्न पनि मिलेन आँखा खोलेर
बसिखानु भएन घामले पोलेर´
यसो भन्दै ठूलाबा यतै आउनुभो
कालो कालो सितलु चस्मा लाउनुभो


रमेशचन्द्र घिमिरे   
  – भ‍ोर्लेटार, लमजुङ ।