सहिद पार्कः लघुकथा


सहिद पार्कः लघुकथा

सहरको बीचोबीच एउटा पार्क थियो, जमानादेखिको । पार्क पार्क जस्तो नभए पनि त्यसलाई पार्क भनिँदै आएको थियो । त्यसको नाम नै पार्क थियो । पार्कमा पस्ने ठाउँमै एकाएक ‘सहिद पार्क’ भनी बोर्ड लाग्यो । कसले लगायो त्यो थाहा छैन । किन लगायो त्यो पनि थाहा छैन । तर बोर्ड लाग्यो ।

जान्नेबुझ्ने र बूढापाका कसैलाई पनि यहाँ कोही मरेको थाहा थिएन । अनि यो पार्क सहिद पार्क कसरी भयो ?

“कहिले को सहिद भयो र यहाँ ?” जान्नेबुझ्ने र बूढापाका कसैलाई पनि यहाँ कोही मरेको थाहा थिएन । अनि यो पार्क सहिद पार्क कसरी भयो ? यो जिज्ञासा एउटा सनसनीखेज खबरझैँ टोलछिमेक र सहरभरि फैलियो ।

पत्रकारको टोली पुग्यो । नगरपालिकाका कर्मचारी पुगे । वन कार्यालयका हेराला पुगे । सहरी विकास कार्यालयका मान्छेहरू पनि पुगे । एनजीओ, आईएनजीओका कार्यकर्ता पनि पुगे । सबैले प्रस्टै देखे, त्यहाँ ठूलो अक्षरमा सहिद पार्क लेखिएको थियो । कसले त्यो नामकरण ग¥यो । कसले त्यो बोर्ड टाँग्यो । कसैलाई थाहा हुन सकेन ।

यहाँ हरेक वर्ष साल, सिसौँ, जामुन, खयर, राजवृक्ष आदिका हजारौँ बिरुवा रोपिएका छन् । खै ती बिरुवा कहाँ छन् देखाउन सक्छौ ?

पार्कमा एउटा रूख थियो । जम्मा एउटा रूख । गेटैनेर । धोत्रो लागेको अष्टावक्र जस्तो बाङ्गोटिङ्गो कुरूप रूख । कुनै काम लाग्ने भए सायद त्यो त्यहाँ हुन्थेन । हेर्न आएका पत्रकार, कर्मचारी, कार्यकर्ता र टोलछिमेकका सबै चर्को गरी कराउन थाले कि कसरी भयो यो सहिद पार्क ?

प्रश्नको कोलाहलकै बीचमा एउटा चर्को आवाज आयो– यहाँ हरेक वर्ष साल, सिसौँ, जामुन, खयर, राजवृक्ष आदिका हजारौँ बिरुवा रोपिएका छन् । खै ती बिरुवा कहाँ छन् देखाउन सक्छौ ? हाम्रा धेरै सन्तान यहाँ धेरैपटक सहिद भएका छन् – समाचारको खेतीका लागि, वनका हाकिम र कर्मचारीको आय अभिवृद्धिका लागि, हरेक वर्ष पर्खाल जीर्णोद्धारका लागि भनी सहरी डिभिजन कार्यालयको कामको सूची बनाउनका लागि, एनजीओ आईएनजीओका कार्यकर्ताको भरण–पोषणका लागि । एकदुई होइन, हजारौँ सहिद भएका छन् । एकदुईपटक होइन, धेरैपटक सहिद भएका छन् । हाम्रो ज्यान ज्यान होइन ? अनि यो पार्क कसरी भएन सहिद पार्क ? सायद यो आवाज त्यही अष्टावक्र वृक्षको थियो ।


डा. कपिल लामिछाने
सिद्धार्थनगर नपा ७, सगरमाथा पथ,
भैरहवा, रूपन्देही


(“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ – हेरिटेज मिडिया नेटवर्क , lekhapadhi.com )


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

फाइलको अक्ष (लघुकथा)