त्रिभुवन विमानस्थलमा मन्त्रीको आकस्मिक ‘छड्के’, एक हप्ता भित्र पूर्वाधार एबं यात्रिसेवामा सुधार गर्न निर्देशन


त्रिभुवन विमानस्थलमा मन्त्रीको आकस्मिक ‘छड्के’, एक हप्ता भित्र पूर्वाधार एबं यात्रिसेवामा सुधार गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सात दिनभित्र सम्पूर्ण कमी-कमजोरी सुधार गरी विमानस्थलका हरेक कार्य चुस्त-दुरुस्त बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले आइतबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरी व्यवस्थापनलाई यस्तो निर्देशन दिएका हुन् । उनले विमानस्थलभित्रका पूर्वाधार निर्माण, मर्मतलगायतले यात्रीहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती भएको, उनीहरुले प्रभावकारी सेवा पाउन नसकेकाले सेवा चुस्त-दुरुस्त बनाएको अनुभव यात्रीलाई गराउन निर्देशन दिए ।

उनले विभिन्न किसिमका सम्झौता, सहमति कार्यान्वयन भए/नभएको सम्बन्धमा पनि सचेत हुनुपर्ने बताए । विमानस्थलभित्र निर्माणको कामले कतिपय असहजता थपेकाले सेवाग्राहीलाई प्रतिकूल असर नपर्ने गरी विमानस्थलका काम-कारबाही गराउन निर्देशन दिए । अर्को हप्ता पुनः निरीक्षण गर्न आउने पनि मन्त्री ढकालले बताए ।