नियात्रा: भारतमा पहिलो कार्यक्रममा सहभागिता हुँदाका पल । शृंखला १


लेखक : लेखापढी      ७ चैत्र २०७७, शनिबार १९:२३ मा प्रकाशित     
नियात्रा: भारतमा पहिलो कार्यक्रममा सहभागिता हुँदाका पल । शृंखला १

वि.स. २०७४ को विजयदशमीपछि कञ्चनपुरको गुगुल्डी वाङ्मय प्रतिष्ठानले मलाई डोटेली भाषाको साहित्य लेखन एवम् प्रवद्र्दनमा योगदान दिएको भनेर सम्मानित गरेको थियो । कार्यक्रम सकिएपछि सो संस्थाका अध्यक्ष वीरबहादुर चन्दले हाम्रै स्थानीय डोटेली भाषामा भन्नुभयो, “भारतको हरियाणामाइ एक साहित्यिक कार्यक्रम हुन लारैछ, तै कार्यक्रममा झान सक्यौ त ?” (भारतको हरियाणामा एक साहित्यिक कार्यक्रम हुँदैछ, कार्यक्रममा भाग लिन सक्नुहुन्छ ?)

हामीलाई हरियाणासम्म पुर्याउने कामको जिम्मा पाएका थिए भारत, खटिमाका साहित्यकार राज सक्सेनाले ।

मैले हुन्छ भनेँ । कार्यक्रममा जाने व्यक्ति पहिले तय भइसकेको भएपनि त्यहाँ जाने व्यक्ति मध्ये केहीले जान नसक्ने भएपछि मलाई सोधिएको रहेछ । कार्यक्रममा जाने कुरा त भयो तर कार्यक्रमको मिति तय भएको थिएन् । हामीलाई हरियाणासम्म पुर्याउने कामको जिम्मा पाएका थिए भारत, खटिमाका साहित्यकार राज सक्सेनाले । समयसमयमा राज सक्सेनाको फोन आइरहन्थ्यो । उनी नेपालीहरू कतै यो कार्यक्रममा नगइदिने हुन् कि भनेर मनैमन डराइरहेका थिए ।

इन्डो नेपाल विशिष्ट प्रतिभा सम्मान नाम दिइएको यस कार्यक्रमको आयोजक थियो – मनुमुक्त मानव मेमोरियल ट्रष्ट । डा. मानव हिन्दीका प्रख्यात लेखक भएको र चन्दले आफू महाकाली साहित्य संगमको अध्यक्ष भएको बेला डा. मानव संगमको कार्यक्रममा आएको कुरा राख्नुभयो । डा. मनुमुक्त मानव डा. रामनिवास मानवका एकमात्र सुपुत्र हुनुहुन्थ्यो । भुगोलमा एमए गर्नुभएका उहाँ हिमाञ्चल प्रदेशमा आईपियस अफिसरका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई मानार्थ विद्यावारिधिको पदवी दिइएको थियो । उहाँका रचना भारतका विभिन्न पत्रपत्रिका एवम् रेडियोमा प्र्सारण हुने गर्दथे र एक चित्रकारका रुपमा पनि उहाँले कार्य गर्नुभएको थियो । एक होनहार पिताका होनहार पुत्रका रुपमा रहेका मनुमुक्तको एक दुर्घटनामा निधनसँगै सारा परिवार शोकमा डुब्यो ।

केही समय पुत्रशोकमा रहेपनि पिताले आफ्नो युवा पुत्रको स्मृतिलाई सदैव जीवित बनाउने संकल्प गर्नुभयो । त्यसै संकल्पले निर्माण गर्यो–मनुमुक्त मानव मेमोरियल ट्रष्ट ।

आमाबाबुको सहारा खोसियो, दिदीको तिहार खोसियो । केही समय पुत्रशोकमा रहेपनि पिताले आफ्नो युवा पुत्रको स्मृतिलाई सदैव जीवित बनाउने संकल्प गर्नुभयो । त्यसै संकल्पले निर्माण गर्यो–मनुमुक्त मानव मेमोरियल ट्रष्ट । यस ट्रष्टका माध्यमबाट विभिन्न सामाजिक सुधारका काम गरिन लागे । सामाजिक, सांस्कृतिक विषयमा गोष्ठीको आयोजना गरिन लागे । देशविदेशका विभिन्न क्षेत्रका प्रतिभा जम्मा गरेर सम्मानका साथै महत्वपूर्ण विचार गोष्ठी आयोजना गरिन थाले । मनुमुक्त, मनुमुक्त भवन एवम् डा. रामनिवास मानवको नाम देशविदेशमा फैलिँदै गयो ।

तिहारभन्दा केही दिन अघि मलाई वीरबहादुर चन्द सरको फोन आयो । “कार्यक्रम भाइटिकाको भोलिपल्ट छ, हामीले भाइटिकाको बिहानै हिँड्नुपर्छ ।” बडा फसाद पर्यो । कार्यक्रमका लागि हुन्छ भनिसकिएको थिएँ । त्यतिखेर म काठमाडौंमा बस्थेँ । दशैं र तिहारको अवसरमा घर पुगेको थिएँ । भाइटिका भनेर घर गएको मानिस, भाइटिकाका दिन यात्रामा अर्को देश जानुपर्ने ? मनमा कस्तोकस्तो अप्ठयारो लाग्यो । घरमा बुवाआमा अनि भाइबहिनीसँग सल्लाह गरेँ । उहाँहरुले पहिल्यै भनिसकेको हुँदा जानु उचित हुने सल्लाह दिनुभयो । मनमा अप्ठयारो लागिरहेको थियो ।

दशैं र तिहारको अवसरमा घर पुगेको थिएँ । भाइटिका भनेर घर गएको मानिस, भाइटिकाका दिन यात्रामा अर्को देश जानुपर्ने ?

२० अक्टोबर २०१७ का दिन म धनगढीबाट महेन्द्रनगर लागेँ । महेन्द्रनगरमा वीरबहादुर चन्द सरको घर ऐँठपुरमा रातको बास भयो । रातमा चन्द सरकहाँ पुग्दा मेरो हातमा पर्यो निमन्त्रणा पत्र । सो निमन्त्रणा पत्रमा डा. मुनुमुक्त मानव स्मृति सम्मान गरिने कुरा उल्लेख थियो । भाइटिका छोडेर आएकोले मनमा पीडा थियो । विदेशी भूमिमा सम्मान हुने भएपछि मन प्रफुल्ल भयो । कार्यक्रम आयोजकले हामीलाई कार्यक्रममा आउँदा नेपाली पोशाकमा आउनु भनेको हुँदा नेपाली दौरा सुरुवाल एवम् टोपीको व्यवस्था गरेर झोलामा हालेर गएको थिएँ ।

भाइटिका छोडेर आएकोले मनमा पीडा थियो । विदेशी भूमिमा सम्मान हुने भएपछि मन प्रफुल्ल भयो ।

साँझ चन्द सरको घरपरिवारसँग चिनजान भयो । उहाँको घर म पहिलो पटक गएको थिएँ । यसभन्दा पहिले धनगढी, महेन्द्रनगरमा हुने साहित्यिक कार्यक्रममा भेटघाट हुने गरेपनि यसरी उहाँको घर भने पहिलो पटक गएको थिएँ । साँझ हामीसँगै सो कार्यक्रममा भाग लिनुहुने महाकाली साहित्य संगमका अध्यक्ष हरिशप्रसाद जोशी एवम् संगमका कोषाध्यक्ष लक्ष्मीप्रसाद भट्टसँग कुराकानी भयो । बिहान चन्द सरको घरमा भेला हुने र त्यहाँबाट सबैले भारततर्फ लाग्ने सहमति बन्यो ।

२१ अक्टोबर २०१७ का दिन बिहान छिट्टै जानुपर्ने भएकोले अटो रिक्साको व्यवस्था गरियो । बिहान सबभन्दा पहिले लक्ष्मीप्रसाद भट्ट आउनु भयो, त्यसपछि हरिशप्रसाद जोशीको फोन आयो, “तपाईँहरू मुख्य सडकमा आउनुहोला, म त्यहीँ भेटिन्छु ।”यो खबर सँगै हामी ऐँठपुर स्थित चन्द निवासबाट मुख्य सडकमा पुग्छौं । भाइटिकाको दिन थियो, हरिशप्रसाद जोशी त भाइटिका लगाएर आउनु भयो ।
“मैले त दिदीलाई भनेर बिहानै टिका लगाएर आएँ ।” जोशीले भन्नुभयो ।

चन्दले आफ्नो दिदीबहिनी नभएको कुरा गर्नुभयो भने भट्टले यसपटक आफ्नो भाइटिका नहुने बताउनु भयो । म चुपचाप सुनिरहेँ । हामी अटोमा बनवासा पुग्दा ५.३० बजिसकेको थियो । त्यहाँबाट वीरबहादुर सरले भारतीय सिमबाट खटिमाका साहित्यकार राज सक्सेनालाई फोन लगाउनु भयो । “आप लोग खटिमा आ जाओ, हम यहीँ से साथ जाएँगे ।” (तपाइँहरू खटिमा आउनुहोस्, हामी यतैबाट सँगै जाउँला ।) सक्सेनासँगको यो फोनवार्तापछि हामी खटिमा जाने बसमा चढ्यौं । स्थानिय सिमाना नजिक भएको खटिमाका साहित्यकार र कञ्चनपुरका साहित्यकार बीचमा समयसमयमा गोष्ठी हुने गर्दछ । यो स्थानिय सिमाना वरपरका साहित्यकारको बीचको सम्बन्धको प्रभावले गर्दा हामी भारतकै हरियाणा प्रदेशको नारनौलमा हुने कार्यक्रममा भाग लिन जाँदैछौं ।

खटिमा पुगेपछि चन्द सरको फोनको घन्टी पुग्यो सक्सेनाकहाँ । उहाँ एकछिनमा आउनुभयो र त्यसपछि हाम्रो यात्रा भयो रुद्रपुरतर्फ । अब हामी राज सक्सेनाको गाइडमा हरियाणा जाने भयौं । कार्यक्रमको आयोजक थियो मनुमुक्त मानव मेमोरियल ट्रष्ट । यस संस्थाका प्रमुख ट्रष्टी डा.रामनिवास मानव खटिमाको कार्यक्रममा आएको बेला नेपालको कञ्चनपुर जिल्लामा महाकाली साहित्य संगमले समेत स्वागत एवम् सम्मान कार्यक्रम गरेको रहेछ । त्यसै बेलाको सम्बन्धले यस कार्यक्रममा जोडने आधारशिला बनाएको रहेछ ।
“मै एक महिने से इस कार्यक्रमके तयारीसे अवगत हुँ ।  मानव भाइसाहब मेरे नियमित सम्पर्क मेँ थे । आप लोग इस कार्यक्रममेँ जुड पाएगेँ या नहीँ ? उनको यही चिन्ता थी । आप लोगोँको लानेका जिम्मा मेरा था । अब आप लोग आ गए । अब मुझे कोही चिन्ता नहीँ ।”(म एक महिनादेखि यस कार्यक्रमको तयारीसित अवगत छु । मानव भाइसाहब मेरो नियमित सम्पर्कमा हुनुहुन्थ्यो । हजुरहरु यस कार्यक्रममा भाग दिन सक्नुहुन्छ या सक्नुहुन्छ ? उहाँलाई यही चिन्ता थियो । तपाईँहरूलाई ल्याउने चिन्ता मेरो थियो । अब तपाईँहरु आउनु भएको छ । अब मलाई कुनै चिन्ता छैन ।) सक्सेना निश्चिन्त देखिनुहुन्थ्यो । लाग्थ्यो, ठुलै भारी बिसाएको सन्तोष मिलेको छ उहाँलाई ।

हामी १२ बजेको समयमा रुदपुर पुग्यौं । बस अड्डाबाट उत्रेर अटोमा सवार भई रुद्रपुर रेलवे स्टेशन पुग्यौं ।

गाडी आफ्नै गतिमा दौडिरहेको छ र हामी पनि बसकै गतिमा दौडिरहेका छौं । भाइटिकाका दिन सब मानिस आफ्ना घरमा भाइटिकाको रौनकमा हाँसीखुशी रमाइरहेका छन् । हामी भने दौडिरहेका छौं परदेशको भूमिमा । नेपाल भारतको साहित्यका साथै व्यतिगत कुराकानी गर्दागर्दै समय बितेको थाहा भएन । हामी १२ बजेको समयमा रुदपुर पुग्यौं । बस अड्डाबाट उत्रेर अटोमा सवार भई रुद्रपुर रेलवे स्टेशन पुग्यौं । रुद्रपुर स्टेशन बस स्टेशनबाट केही दुरीमा थियो । स्टेशनमा पुग्दासम्म हामी सामान्य अवस्थामा पुगिसकेका थियौं । रुद्रपुरबाट हाम्रो लागि पहिल्यै टिकट रिर्जवेशन भइसकेको थियो । जीउमा यात्राको थकान भएपनि केही समय विश्राम गर्ने सोचका साथ स्टेशनमा बस्नका लागि राखिएका कुर्चीमा बस्यौं । हामीले खाली समयको उपयोग आआफ्ना क्यामराबाट फोटो खिच्यौं । ट्रेनको समय केही घण्टा बाँकी भएकोले हामीले त्यहाँ बाथरुममा गएर सरसफाइ गर्यौं अनि घरबाट लगेका रोटी तरकारीका पोका खोलिए र सामूहिक भोजन भयो ।

“यहाँसे हम दिल्ली जाएँगे । दिल्ली से जयपुर (राजस्थान) वाली टे«नसे नारनौल जाएँगे । आधी रातको पहुँचेँगे ।”(यहाँबाट हामी दिल्ली जान्छौं । दिल्लीबाट जयपुरको रेलमा जान्छौं । आधा रातमा पुग्नेछौं ।) सक्सेनाले हामीलाई अगामी यात्राको विषयमा बताए ।

यस बारेमा कुरा गर्दा सक्सेनाले भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि स्वच्छ भारत अभियान चलाइएको र यसैको प्रभावले जताततै स्वच्छ भएको कुरा बताए ।

पहिलेपहिले भारत जाँदा सार्वजनिक स्थलमा अत्यन्त फोहर भएको पाइन्थ्यो तर यस पटक जाँदा जताततै सरसफाई देखियो । हामीले यस बारेमा कुरा गर्यौँ । यस बारेमा कुरा गर्दा सक्सेनाले भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि स्वच्छ भारत अभियान चलाइएको र यसैको प्रभावले जताततै स्वच्छ भएको कुरा बताए ।

रुद्रपुरबाट रेलमा चढेर हामी दिल्लीका लागि प्रस्थान गर्यौं । रेलमा बस्दा रेलमा जाने कि बसमा जाने भन्ने छलफल भएको थियो । सक्सेनाले जसरी भएपनि नारनौल पुर्याउने कुरा गरेका थिए । हामी दिल्ली पुग्दासम्म निकै समय भइसकेको थियो, साँझ परिसकेको थियो । रेलमा भएको अत्यधिक भीडलाई पन्छाउँदै हामी स्टेशनमा पुग्यौँ । सक्सेनाले दिल्ली पुग्नु अघि नै सचेत गराएका थिए, “मेरे पिछेपिछे लगे रहना । कहीँ खो जाओगे ।” (मेरो पछिपछि हिँडनु, कतै हराउलाऊ ?) यो कुरा मेरो मनमा बसेको थिए । म सक्सेनालाई हेर्दै रेलबाट बाहिर निस्केँ । मेरो पछि वीरबहादुर चन्द सर र हरिश सर हुनुहुन्थ्यो ।

दिल्ली स्टेशनमा धेरै भीड थियो । हामी भीड पन्छाउँदै एक ठाउँमा जम्मा भयौं । आआफ्ना झोला राख्यौं । हामीले हामी सँगमा आएका साथी हेर्यौं । चार जनामध्ये तीन जना मात्र छौं । हाम्रा यात्राका सहयात्री श्री लक्ष्मीप्रसाद भट्ट गायब ।

“लक्ष्मीजी काँ गया । नाइँ धेकिन लार््या ।”(लक्ष्मीजी कता जानुभयो, देखिनु लाग्नुभएको छैन), हरिश सरले हाम्रो मातृभाषामा भन्नुभयो ।

“रेल है बाइर निकल्या त मुइले धेक्यो हो ।”(रेलबाट निस्केको त मैले देखेको हुँ ।) मैले आफूले थाहा पाएको कुरा बताएँ ।

सबै जना चिन्तित भए । त्यसमा पनि वीरबहादुर चन्द सरमा झन छटपटाहट बढ्यो । उहाँकै सम्पर्कबाट हामी यो यात्रामा सहभागी भएका थियौं । सबै जना आत्तिएको देखेर सक्सेनाले भन्नुभयो, “आप लोग सामानके पास रहना, यहाँ चोरी बहुत होती है, म ढुँढता हुँ भट्टजीको ।”(तपाईँहरु सामान सँगै एकै ठाउँमा रहनु होला । यहाँ चोरी धेरै हुन्छ । म खोज्छु भट्टजीलाई ।”
म दिल्ली पहिलो पटक आएकोले यस खोजी कार्यमा रुचि देखाएन । यत्रो ठूलो भीडमा आफै हराए के होला ? यही सम्झेर म सामानको साथमा रहेँ । एक छिनमा सक्सेना आए, उनले लक्ष्मीप्रसादलाई कतै नभेटेको कुरा बताए । उनी फेरी अर्को दिशातिर लागे । हाम्रो यात्रा टोलीमा अन्य सदस्य पनि खोजी कार्यमा लागेपनि आधा घन्टासम्म उनको कुनै अत्तोपत्तो  थिएन् ।
सबै जना चिन्तित भए । चारैतिरबाट थाकेर बसेको बेलामा लक्ष्मीप्रसाद हामी भएको ठाउँमा पुगे । खोज्दाखोज्दा हैरान भएका सबमा उनीप्रति क्रोध र दया एकैपटक जागेको थियो । उनी पुग्नेबित्तिकै चन्द सरले सोध्नुभयो, “यतिका बेरतक काँ थ्या ? सबलाई परेशान गर्या ।”(यतिका बेरसम्म कहाँ थियौ, हामी सबलाई आपत्तमा पारिदियौ ।)

“रेलमा बसेका बेला बसमा जाने कुरा भएको थियो । म बस खोज्न गएको थिएँ । बस मिलेन् ।” भट्टले केही नभएको जस्तो गरेर सहज भावमा जवाफ दिए ।

“यस्तो ठुलो सहरको स्टेशनमा कसैलाई नसोधेर आफै हराउनु हुँदैन । अबदेखि ख्याल गर्नु ।” सक्सेना सरको यो वचनसँगै लक्ष्मीप्रसाद चुप लागे ।

केही क्षणमा सक्सेनाले सबैको नारनौलसम्मको टिकट बनाए । हामी रेलबाटै नारनौल जाने भयौं ।
क्रमश…………………………………………………………………………………………………..


डा.पुष्करराज भट्ट
75% LikesVS
25% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •