४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद छुटे । भन्छन् : म निर्दोष थिएँ


४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद छुटे । भन्छन् : म निर्दोष थिएँ

सुनुवाइविनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए,‘म निर्दोष थिएँ ।’ 

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने छन् ।

४० वर्षदेखि भारतीय जेलमा रहेका इलामको माई नगरपालिका–१०, लुम्बाकका दुर्गाप्रसाद तिम्सिना शनिबार छुट्ने हुन। कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएका थिए । अदालतले उनलाई भाइ प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउने आदेश दिएको थियो ।

क्षतिपूर्तिबारे मौन

फैसलाका अनुसार ४० वर्षदेखि जेल बसेका दुर्गाप्रसादको शारीरिक र मानसिक दुवै स्थिति कमजोर छ । जेलमा पाएको चरम यातना र कुटपिटबाट उनको ज्यान कमजोर देखिन्छ । अदालतले उनलाई तारिखमा छाड्ने आदेश त गर्‍यो, तर क्षतिपूर्तिबारे मौन देखिएको छ ।

अब, प्रत्येक ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने भाइ प्रकाशचन्द्रले बताए । ‘कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा दाइको अवस्थाबारे जानकारी दिनु भनिएको छ,’ उनले भने, ‘४० वर्ष बस्दा पनि किनारा लागेको छैन । के कारणले जेल बस्नुपर्‍याे भन्ने पनि पत्तो छैन । हत्याको अभियोग लगाइएको छ । तर, यसको कुनै प्रमाण फेला परेको छैन ।’