प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ : शेरबहादुर देउवा


[ss_social_share]
लेखक : लेखापढी      ७ चैत्र २०७७, शनिबार २३:०६ मा प्रकाशित     
प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ : शेरबहादुर देउवा

चितवन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस तरुण विभागले आज रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री बन्नुभन्दा कांग्रेसलाई निर्वाचनमा पहिलो पार्टी बनाउने समय आएको बताएका हुन् । उनले भने, “प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ । टाउकामा जिम्मेवारी आयो भने पछि पर्ने वाला पनि छैन ।”

सभापति देउवाले अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार रहेको भन्दै माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएको बताए । उनले भने, “मधेसवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष कसरी अगाडि बढ्छन्, त्यो हेर्नुपर्छ ।”

सभापति देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए । आपसी मतभेदको अन्त्य गर्दै निर्वाचनको तयारी गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे । सभापति देउवाले स्थानीय तहदेखि संघीय तहसम्म निर्वाचन हुने भएकाले सबैलाई व्यवस्थापन गर्न सकिने बताउँदै जनताको घरदैलोमा गएर निर्वाचनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, “जनता मालिक हुन्, नोकर होइनन् । भाषण गरेर मत दिँदैनन् । जनताको सुख-दुःखमा साथ दिनुस्, निर्वाचन जितिन्छ ।” कांग्रेसभित्रको आन्तरिक विवाद टुंग्याएर अघि बढ्ने समय आएको उनको भनाइ छ ।

कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस सर्तसहित सरकारमा नजाने बताए । उनले भने, “कांग्रेस सरकारमा जान्छ । तर, हात-खुट्टा बाँधेर सरकारमा जाँदैन ।”

बिनासर्त लोकतान्त्रिक विकल्पमा दल आउने भए मात्र कांग्रेसले सरकारको नेतृत्व गर्ने उनले बताए । उनले भने, “कांग्रेसले सेवा सर्त पूरा गरेर सरकारको नेतृत्वमा जाँदैन ।” अहिलेको समयमा कांग्रेस आफैँ जुटेर बलियो बन्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, शंकर भण्डारी र देवेन्द्र कँडेलले कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गर्दै अघि बढ्नुपर्ने बताए । अहिले देश संकटमा जान लागेको भन्दै उनीहरुले देशलाई सही बाटोमा हिँडाउने कर्तव्य पनि कांग्रेसको रहेको बताए । राष्ट्रियता, अखण्डता, प्रजातन्त्रलाई आघात नहुने गरी लोकतन्त्रको रक्षा गर्दै अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला संघका केन्द्रीय सदस्य उमा रेग्मी, तरुणदल वाग्मती प्रदेशका अध्यक्ष पद्मनारायण तिमिल्सिना, तरुण युवा परिचालन समितिका हेमन्त पाख्रिनलगायतले मुलुकको विद्यमान राजनीति र कांग्रेसको दायित्वका विषयमा बोले ।    सो अवसरमा सहिद परिवारलाई सम्मान गरिएको थियो । रासस

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •