टोखामा एक युवकको हत्या आरोपमा तीन जना पक्राउ


टोखामा एक युवकको हत्या आरोपमा तीन जना पक्राउ

काठमाडौँ- गत शनिबार टोखा नगरपालिका-१ मालुङस्थित सडक छेउको बाँसको झ्याङमा  एक पुरूषको शव फेला परेको थियो। 
सो शव मोरङ बेलबारी नगरपालिका-२ घर भई टोखा-३ सूर्यदर्शन हाइट बस्ने २२ वर्षीय आशिष लिम्बूको थियो। उनको घाँटी थिचेर हत्या गरेको जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। 

सो अनुसन्धानको क्रममा प्रहरीले हत्या गरेको आरोपमा दुई जनालाई काठमाडौंबाट र एक जनालाई बुधबार रौतहटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।  कुटपिट तथा घाँटी थिचेर हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-७ का २१ वर्षीय शेख अब्दुल आलम, भारतको मोतिहारीका १९ वर्षीय भुपेन्द्रकुमार साह र मोहम्मद कासिम मन्सुरी छन्।

मोहम्मद कासिम मन्सुरी टोखास्थित एमडी मोटरसाइकल वर्कसपका सञ्चालक हुन्।

फागुन २८ गते राति नौ बजे उनीहरूले आशिष लिम्बूमाथि कुटपिट तथा घाँटी थिचेर हत्या गरेका थिए।

एसएसपी अशोक सिंहका अनुसार उनको हत्या हुनुको कारण लागुऔषध दुर्व्यसन भएको जनाएको छ।