झलनाथ खनालको आरोप: ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लाने दुष्प्रयास गरे


लेखक : लेखापढी      ४ चैत्र २०७७, बुधबार १७:४९ मा प्रकाशित     
झलनाथ खनालको आरोप: ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लाने दुष्प्रयास गरे

बुधबार खनाल–नेपाल समूहले सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रूपले अगाडी बढ्ने पहलकदमी लिनुपर्नेमा अध्यक्ष ओलीले गुट भेलाबाट पार्टीको विधानविपरीत निर्णय गरी पार्टीलाई विर्सजनमा लाने दुष्प्रयास गरेको आरोप लगाए ।

वरिष्ठ नेता झलनाथ खनालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विर्सजनतर्फ लाने दुष्प्रयास गरेको बताएका छन् । ओलीको उक्त कदमप्रति पार्टीपंक्तिभित्र आक्रोश पैदा भएको उनको भनाइ छ । “जुन ढंगले पार्टी अध्यक्षले सबै नेताहरुसँग छलफल गरेर, विचार–विमर्श गरेर पार्टी केन्द्रीय कमिटीको बैठक राखेर अनि नयाँ ढंगले अगाडि बढ्नुपर्ने, पहलकदमी लिनुपर्ने आवश्यकता थियो । त्यो कुरा उहाँले गर्न सक्नु भएन । उल्टै २८ फागुनमा उहाँले बालुवाटारमा गुट बैठक राखेर जुन ढंगले एकलौटी ढंगले आफ्ना मान्छेहरुलाई मात्रै राखेर उहाँले जुन ढंगका निर्णयहरु गर्नुभो, त्यो निर्णय पार्टी विधानअनुरुप पनि छैन । पार्टीका सोचअनुरुप पनि छैन । पार्टीका महाधिवेशनले गरेका निर्णयअनुरुप पनि छैनन्,” उनले भने, “यसरी केपी ओलीले जुन ढंगले काम गर्नुभाको छ, हाम्रो पार्टीलाई विभाजनतर्फ, विघटनतर्फ र विसर्जनतर्फ लाने उहाँले दुष्प्रयास गर्नुभाको छ । यो दुष्प्रयासका विरुद्ध सिंगो देशमा, सिंगो कम्युनिस्ट आन्दोलनमा, हाम्रो पार्टीव्यापी रुपमा एउटा आक्रोश पैदा भएको छ । रोष पैदा भएको छ । र, त्यो रोषलाई ठोस रुपमा राजनीतिक रुपले अभिव्यक्ति दिनको लागि र एउटा ठोस दिशा दिनको लागि हामीेले आजको यो कार्यकर्ता भेलाको आयोजना गरेका छौँ ।”

नेता खनालले पार्टीभित्र गुटबन्दी केपी ओलीले नै सुरुवात गरेको जिकिर गरे । ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडेको उनको आरोप छ । एमाले, माओवादी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भए पनि एकतालाई भंग गर्ने काम गरेको उनको भनाइ छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •