कांग्रेस संस्थापन सरकारको नेतृत्व होइन चुनावकै पक्षमा रहेको


कांग्रेस संस्थापन सरकारको नेतृत्व होइन चुनावकै पक्षमा रहेको

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अहिले सत्ताको नेतृत्व गर्ने प्रस्ताव आइरहेको छ । सरकारको नेतृत्व गर्ने र देशमा आएको अस्थिरता र विधिहीनता अन्त्य गर्दै लोकतन्त्रलाई मूलबाटोमा हिँडाउने जिम्मा नेपाली कांग्रेसले लेओस् भनेर संसद्को तेस्रो र चौथो दलले आग्रहसमेत गरिरहेको अवस्था छ । तर, कांग्रेस नेतृत्व भने फरक निष्कर्षमा पुगेको छ । उसले सरकारको नेतृत्व होइन ताजा जनादेशका लागि पहल थालेको छ ।

यस्तो हुनुमा कांग्रेस नेतृत्वलाई वर्तमान प्रतिनिधिसभाले काम गर्नसक्छ भन्ने नै लागिरहेको छैन । प्रतिनिधिसभा विघटनकै अवस्थामा विघनलाई असंवैधानिक भनेर पनि पुन:स्थापना भन्न तयार नभएको कांग्रेस नेतृत्व अहिले पनि निर्वाचनलाई एकमात्र निकास देखिरहेको छ । त्यसैले कांग्रेसको संस्थापनले न त ओलीको विकल्प खोजिरहेको छ न त आफ्नो नेतृत्वमा सरकार बनाउन पहल नै गरेको छ । कांग्रेसको संस्थापन पक्षका नेता रमेश लेखक प्रतिनिधिसभा विघटनपछि भएको घोषणाअनुरुप नै चुनाव हुन पाएको भए सबैभन्दा उत्तम निकास हुने भन्दै अब पनि निर्वाचनको विकल्प नभएको बताउँछन् ।

“वर्तमान प्रतिनिधिसभा र कम्युनिस्ट पार्टीको सरकार दुवैले अब काम गर्न सक्दैनन्, यो मेरो निष्कर्ष हो,” लेखकले भने, “६४ प्रतिशतको समर्थन भएको कम्युनिस्ट सरकारले देश हाँक्न सक्दिनँ भनेर प्रतिनिधिसभा विघटन गरेपछि विकल्प ताजा जनादेश नै थियो । अब पनि त्यही बाटो सबैभन्दा उत्तम बाटो हो ।” उनले नेपालमा ‘अर्ली इलेक्सन’ को विकल्प नभएको बताए । त्यो अर्ली इलेक्सन कसरी हुन्छ भन्नेबारे भने उनले खुलाएका छैनन् । 

प्रधानमन्त्रीसँग मत मिल्यो
प्रधानमन्त्री केपी ओलीका धारणा पनि कांग्रेससँग मिल्दा-जुल्दा छन् । ओलीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आफू नेतृत्वको सरकार अब पनि कायम रहने र त्यो नभए देश निर्वाचनमा जाने बताएका छन् ।

“मैले गरेको फैसला (प्रतिनिधिसभा विघटन) त सर्वोच्चले बदर गरिदिएको छ तर, व्यवहारले, राजनीतिले, संविधान कार्यान्वयनको अभ्यासमा अगाडी बढ्दा मेरो कदमलाई के भन्छ ?” ओलीले भनेका छन्, “संविधान कार्यान्वयनका क्रममा र समृद्धिको आकांक्षा कार्यान्वयनमा व्यवधान खडा गर्ने तत्त्वका विरुद्धमा फेरि पनि ताजा जनादेशमा जानुपर्छ ।” उनले आफूले चुनावमा जाने उचित निर्णय गरेको भन्दै त्यसको वातावरण संविधानअनुसारै आउने दाबी गरे ।

“संविधानको धारा ७६ (१) को सरकार त गइगयो, छोटो समयमा ७६ (२) को सरकार पनि चाँडै जाँदै छ, त्यसपछि पनि ठूलो पार्टीको नेता म नै हो, मेरै नेतृत्वमा सरकार बनाउन पहल हुने हो,” ओलीले भने, “त्यसपछि देश ताजा जनादेशमा नै जाने हो ।”

जसपाको विशेषण अनुसार पनि कांग्रेश चुनावकै पक्षमा रहेको बुझिन्छ । बिगत समय देखि नै देउवा मौन रहेको परिस्थिति नियाल्दा समेत कुनै रहस्य लुकेको देखिन्छ । -१२खरी