काठमाडौँ- अस्ट्रेलियाका शीर्ष अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लागेसँगै यौन दुर्व्यवहारविरुद्ध ठूलो र्याली निस्किएको हो । प्रधानमन्त्री स्कट मौरिसनको सरकार अहिले विभिन्न बलात्कारको मुद्दाको कारण समस्यामा परेको छ । अस्ट्रेलिया भर हजारौं मानिसहरुले यौन दुर्व्यवहार र महिला हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।
अस्ट्रेलियाका महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले सन् १९८८ को बलात्कार आरोपको एक आरोपी आफू पनि रहेको खुलासा गरेका थिए । यद्यपि उनले आफूमाथिको आरोप अस्वीकार गरेका थिए । अर्को एक मुद्दामा पूर्व राजनीतिक सल्लाहकार ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा मन्त्रीको कार्यालयमा सहकर्मीले आफ्नो बलात्कार गरेको बताएकी थिइन् । उनले आफूमाथिको घटनाबारे मुख खोलेसँगै अस्ट्रेलियामा यौन हिंसाबारे मुख खोल्नेको लहर देखिएको हो । सोमबार अस्ट्रेलियाका ४० भन्दा बढी सहरमा मानिसहरुले यौन दुर्व्यवहारविरुद्ध र्याली निकालेका हुन् ।
अस्ट्रेलियाको सरकारले यौन दुर्व्यवहारको मुद्दालाई गम्भीरतापूर्वक नलिएको भन्दै र्यालीमा सहभागी मानिसहरुले सरकारको आलोचना गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आन्दोलनकारीहरुसँग भेट्न पनि अस्वीकार गरेका थिए ।
-एजेन्सीहरुको सहयोगमा