काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार दोस्रो दिन बसेर बैठक केही दिनका लागि स्थगित भएको हो ।
दोस्रो दिन सोमबार बसेको बैठकमा २० जना नेताहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा चुस्त दुरुस्त राख्नुपर्ने धारणा राखेको नेता गणेश साहले जानकारी दिए ।
उक्त बैठकमा ‘२० जनाले धारणा राख्नुभयो । धेरैको भावना पार्टीलाई एकतावद्ध बनाउँदै सांगठनिक र सैद्धान्तिक रुपले चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने कुराहरु आए’, साहले भने, ‘अवको बैठकमा दस्तावेजसहित छलफल हुनुपर्ने मागहरु पनि उठे ।’ जनार्दन शर्माले बोल्न सुरु गरेको बैठकमा पम्फा भुसाल हुँदै रामचन्द्र झामा पुगेर टुंगिएको थियो ।
बैठकमा नयाँ सरकार निर्माणका लागि अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपा विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनका विषयमा समेत चर्चा भएको थियो । अब केहि दिन पछी अर्को बैठक बस्ने तय भएको छ ।