बिदेशी पिउने पानी आयात रोक्नुपर्ने: संसदीय उपसमिति


बिदेशी पिउने पानी आयात रोक्नुपर्ने: संसदीय उपसमिति

काठमाडौं । विदेशबाट नेपालमा आयातमा हुने पिउने पानीको पूर्ण प्रतिबन्ध लगाउन संसदीय उपसमितिले सरकारलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गत बजार अनुगमन उपसमितले तयार पारेको प्रतिवेदनमा सरकारलाई यस्तो निर्देशन दिन सिफारिस गरेको हो । उपसमितिले बुझाएको प्रतिवेदन समितिबाट अनुमोदन भइसकेको समिति बिमलप्रसाद श्रीवास्तबले जानकारी दिए ।

अध्ययन उपसमितिका संयोजक प्रकाश रसाईलीले भने स्वदेशमै उच्च गुणस्तरको पानी उत्पादन हुने र आयात हुने गुणस्तरको पानी नेपालमै उत्पादनको वातावरण बनाउन यस्तो प्रतिबन्ध आवश्यक देखिएको हो ।

नेपालमा विदेशबाट बोतलको पानी आयात हुने गरेको अध्ययनका क्रममा भेटिएको उनको भनाइ छ । नेपालमै हिमनदी, प्राकृतिक स्रोत, खनिज स्रोत लगायतबाट उत्पादन हुने पानी उपलब्ध रहेकाले पिउने पानी आयात गर्नु बाञ्छनीय नभएको समितिको प्रतिवेदनमा भनिएको छ ।

नेपालका पानी उत्पादकहरुलाई विदेशमा पिउने पानी निर्यात गर्न सहजीकरण गर्न पनि उपसमितिले सरकारलाई भनेको छ । विदेशमा पानी निर्यात गर्दा उत्पादन, भण्डारण र आपूर्ति प्रकृयाको आईएसओ सर्टिफिकेट लिएर मात्रै गर्नुपर्ने पनि उपसमितिले भनेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा अमेरिका र यूरोपेलीसहितका मुलुकबाट २३ लाख रुपैयाँ भन्दा बढीको झण्डै ३५ हजार लिटर बोतल बन्द पिउने पानी आयात भएको थियो ।
-अनलाइन खबर