काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा फर्किएपछि सरकारमा रहेका मन्त्रीहरुलाई माओवादीले फिर्ता बोलाएको हो ।
पूर्वमाओवादी केन्द्रको कोटाबाट गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई साथ दिएका थिए । नेकपा दुई समूहमा विभाजित हुँदा पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामा तामाङलाई ओलीले मन्त्री बनाए । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले आफ्नो पार्टीको तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देश गर्यो ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उनीहरुलाई पार्टी छाडेको हो/होइन ? भन्दै २४ घण्टे स्पष्टीकरण सोध्यो । आज माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । उनीहरुलाई पार्टीमा नफर्किए कार्बाही गर्ने तयारी पनि भएको नेताहरु बताउँछन् ।
“हामीलाई केही जानकारी आएको छैन । त्यति बेला हामीलाई नेकपाले मन्त्री बनाएको हो । माओवादी केन्द्रबाट बनेका होइनौँ । सांसदको हैसियतले उहाँहरुले हामीलाई फिर्ता बोलाउन मिल्छ कि मिल्दैन, हामी बुझिरहेका छौँ,” मन्त्री भट्टले भने सांसद पद गुमे पनि माओवादी केन्द्रमा नफर्कने बताए । माओवादी केन्द्रले मन्त्रीबाट फिर्ता हुन दिएको निर्देशनबारे आफूहरुलाई जानकारी नभएको उनको भनाइ छ ।
आफूहरुलाई मन्त्रीबाट फिर्ता हुनू भन्ने नैतिकता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नभएको उनले बताए । “के गुम्छ, के रहन्छ भन्ने प्रश्न होइन । यो विचारको प्रश्न हो । विचारको प्रश्न भएकाले सही विचार र नेतृत्व कहाँ छ भन्ने हो । माओवादी केन्द्रले फर्किनुस् भन्दा नैतिकता हुन्छ ? त्यो उहाँहरुले बुझ्ने कुरा हो,” भट्ट भन्छन् ।
“उता फर्कने प्रश्नै आउँदैन । नत्र त हिजै गइहाल्थ्यौँ नि ।” ऊर्जामन्त्रीसमेत रहेका रायमाझी पनि आफूहरु ठिक ठाउँमा भएकाले फर्कने अवस्थामा नरहेको बताउँछन् ।