ओली सरकारलाई दिएको समर्थन कायमै छ, मन्त्रीमात्रै फिर्ता बोलाइएको हो : माओवादी केन्द्र


लेखक : लेखापढी      २९ फाल्गुन २०७७, शनिबार १२:४२ मा प्रकाशित     
ओली सरकारलाई दिएको समर्थन कायमै छ, मन्त्रीमात्रै फिर्ता बोलाइएको हो : माओवादी केन्द्र

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । साथै नेकपा एमालेको केपी ओली पक्षले शुक्रबार विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो ।

ओली नेतृत्वको सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने र एमाले केन्द्रीय कमिटीमा समाहित भएका नेताहरूलाई स्थिति स्पष्ट पार्न निर्देशन दिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादी केन्द्रका मुख्य सचेतक देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन यथावत रहेको बताए । ‘अहिले नै समर्थन फिर्ता लिइसकेका छैनौं,’ उनले भने ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अन्य राजनीतिक दलहरूसँग वार्ता भइरहेको त्यसले निष्कर्ष ननिकालुन्जेलसम्म समर्थन फिर्ता नलिने बताए । ‘समर्थन फिर्ता लिने निर्णय भएको छैन । सरकारलाई दिएको समर्थन कायमै छ,’ उनले भने ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । उनीहरूलाई पार्टीमा फिर्ता फर्किनका लागि माओवादी केन्द्रले निर्देशन दिएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेका बेला एमाले नेता भीम रावल पनि पेरिसडाँडा पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी त्यहाँ गएका थिए ।

‘अध्यक्षसँग भेट्नका लागि उहाँ आउनुभएको थियो । हाम्रो स्थायी कमिटी चलिरहेका बेला उहाँ आउनुभएको थियो,’ नेता पौडेलले भने, ‘उहाँले अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुभएको थियो ।’

समसामयिक विषयमा दाहालसँग रावलले छलफल गरेको पौडेलले बताए ।

एमालेको शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको थियो । सोही बैठकले माओवादी छोडेर ओली पक्षमा लागेका नेताहरूलाई जिम्मेवारी दिएको थियो ।
-कान्तिपुरबाट 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •