जसपाको समर्थन पाउन रेशम चौधरीको रिहा विषयमा प्रधानमन्त्री ‘सकारात्मक’


जसपाको समर्थन पाउन रेशम चौधरीको रिहा विषयमा प्रधानमन्त्री ‘सकारात्मक’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारसँग सहकार्यका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा जसपाले प्याकेजमा आफ्नो माग पुरा गर्नुपर्ने सर्त अघि सारेको बुझिन्छ ।

हिजो करिब डेढ घण्टा भएको छलफलमा जसपाले जेलमा रहेका टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीलगायतको मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकतालगायत विषयमा एकमुष्ठ समझदारी खोजेको हो । संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, राजन भट्टराई थिए । जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्ण थिए ।

उक्त छलफल बारे बोल्दै जसपा नेता लक्ष्मणलाल कर्णले भनेका छन् – “सत्ता साझेदारीका लागि हाम्रो पहिलो सर्त रेशम चौधरीलगायत जेलमा रहेकाहरू रिहाइ, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन नागरिकतालगायत विषय छन्,”  रेशम चौधरी रिहाइका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुहुन्छ ।”

सत्ता साझेदारीका लागि जसपासँग संसद्‌मा ३४ मत छ । दुईजना सांसद् निलम्बनमा छन् । केपी ओलीसँग १२० सांसद कायम छन् । माओवादी केन्द्रले तत्काल समर्थन फिर्ता नलिने मुडमा छ । कदाचित् फिर्ता लिए प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो परिस्थितिका लागि प्रधानमन्त्री ओलीले संवाद अघि बढाएका हुन् भन्ने स्पस्ट देखिन्छ ।