काठमाडौं । दैलेखकी एक महिलाले चार सन्तान सहित कर्णाली नदीमा हाम फालेकी छन् । दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछाममा भेटिए पनि अन्य बेपत्ता छन् ।
सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवालको शव भेटिएको छैन । उनीहरुको खोजी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए । “दुई जनाको शव भेटिएको छ । सनाखत पनि भइसकेको छ । अरु तीनजनाको खोजी कार्य भइहेको छ,” देवकोटाले भने ।
स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले भने घटनाको वास्तविकता अनुसन्धान भइरहेको जनाएको छ ।