प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीकाे राजिनामा वा अविश्वासकाे प्रस्ताव ?


लेखक : लेखापढी      २३ फाल्गुन २०७७, आईतवार ११:४२ मा प्रकाशित     
प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीकाे राजिनामा वा अविश्वासकाे प्रस्ताव ?

प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु हुन लागेको हो । आज सबैको ध्यान प्रधानमन्त्रीले राजीनामा दिन्छन् कि दिँदैनन् वा उनीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुन्छ कि हुँदैन भन्नेमा छ ।

राजनीतिक अन्योलबीच सुरु हुँदै गरेकाे बैठकमा सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन ।

बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव नेपाल पक्ष त्यसबारे अझै अनिर्णित बनेको छ । 

शुक्रबार आफू पक्षीय संसदीय दलको बैठक बसेर सो पक्षले आज बस्ने प्रतिनिधि सभा बैठक अघिनै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षसहित राजीनामा नगरे अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो ।

सत्तारूढ दल विभाजित भएकै अवस्थामा प्रधानमन्त्री ओलीलाई संसद् बैठक सामना गर्न सहज छैन । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ मा १३ दिनभित्र संसद् बैठक बोलाउने समयसीमा तोकेको थियो ।

सत्तारुढ दलभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठकलाई चासोका साथ हेरिएको छ । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । सर्वोच्च अदालतले उक्त निर्णय बदर गर्दै बैठक आह्वान गर्न आदेश गरेको थियो ।

 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share