मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल र उद्योग मन्त्रि लेखराज भट्ट


लेखक : लेखापढी      २१ फाल्गुन २०७७, शुक्रबार २२:२९ मा प्रकाशित     
मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल र  उद्योग मन्त्रि लेखराज भट्ट

बुटवल । अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट विरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

प्रहरीले तीनजना स्थानीयलाई कुटपिट गरेर घाइते बनाएको र दुईजनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ । दुई पक्षबीच ढुंगा हानाहान र लखेटालखेट हुन थालेपछि अर्थमन्त्री पौडेलले २ मिनेटमै आफ्नो मन्तव्य टुंग्याएर हिँडेका थिए ।

आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

स्थानीयले बिहीबार पनि शिलान्यास कार्यक्रमका लागि तयार गरेको स्टेज भत्काइदिएका थिए । तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रहरी परिचालन गरी पुनः मच बनाएका थिए । मोतीपुरका पूर्वगाविस अध्यक्ष भीमलाल न्यौपानेले स्थानीयले वर्षौंदेखि जोतभोग गर्दै आएको जग्गा, विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बन्न लागेपछि विरोधमा उत्रेको बताए ।

औद्योगिक क्षेत्र संघर्ष समितिका सहसंयोजक ग्यामलाल भुसालले आफूहरुले संरक्षण गरेको जग्गामा औद्योगिक क्षेत्र बनाउँदा स्थानीयको माग सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए । उनले घना वस्ती भएको क्षेत्रमा औद्योगिक क्षेत्रको सट्टा पर्यटकीय स्थल र पार्कहरु बनाइनुपर्ने बताएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •