काठमाडौं – ज्योति लाइफ इन्सुरेन्सले आज शुक्रबारबाट आइपीओ खुला गर्दैछ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासनगर्दैछ। यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ ।
ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
नेपालमा हाल आइपीओमा लगानीकर्ताको अधिक आकर्षण रहेको छ । पछिल्ला आइपीओहरुमा लगातार जसो झण्डै १५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । यस्तै, नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा पनि दिनदिनै वृद्धि हुँदै गएको छ । पछिल्लो समय खुलेको महिला लघुवित्तको ३ लाख ७५ हजार कित्ता आइपीओका लागि पनि झण्डै १५ लाख सर्वसाधारणले आवेदन दिएका थिए ।
ज्योति लाइफको आइपीओ पाउन पनि भाग्यमा भर पर्नुपर्ने देखिन्छ । किनभने, ज्योतिको ५९ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिनसक्नेछ । उक्त सेयर १० कित्ताका दरले बाँडफाँट गर्ने हो भने पनि जम्मा ५ लाख ९४ हजार जना लगानीकर्तालाई मात्र दिन पुग्छ ।
तसर्थ, ज्योतिले खुला गर्न लागेको सेयर र पछिल्लो समय आइपीओमा परेको आवेदनका आधारमा यस कम्पनीको १० कित्ता सेयर पाउन पनि भाग्यमानी हुनुपर्छ भन्न सकिन्छ ।