विप्लब कार्यकर्ता पक्राउ नगर्नु: सरकारको निर्देशन


विप्लब कार्यकर्ता पक्राउ नगर्नु: सरकारको निर्देशन

काठमाडौं । विप्लब पक्षसंगको वार्ता सफल भएको छ ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

स्रोतका अनुसार समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका थिए ।

सरकारले २८ फागुन २०७५ मा  प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता-कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो । समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ ।