म्यानमारमा सेनाको दमन बढ्यो: ९ जना प्रदर्शनकारीको मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      २० फाल्गुन २०७७, बिहीबार ०२:२२ मा प्रकाशित     
म्यानमारमा सेनाको दमन बढ्यो: ९ जना प्रदर्शनकारीको मृत्यु

यांगुन-  म्यानमारमा सेनाविरुद्धको देशव्यापी प्रदर्शन बुधबार पनि जारी रह्यो । नेतृ आङसान सुकीलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापनाको माग गर्दै सेनाको विरोधमा उत्रिएका आन्दोलनकारीहरुमाथि केही समययता सेनाले आक्रामक शैली अपनाइरहेको छ ।

यसैबीच हतियारविहीन प्रदर्शनकारीलाई जथाभावी गोली चलाउँदा बुधबार पनि कम्तीमा नौजनाको मृत्यु भएको बताइएको छ । यससँगै म्यानमार संकट दिन प्रतिदिन झन् गम्भीर बन्दै गइरहेको छ । स्थानीय समाचार रिपोर्ट अनि सामाजिक सन्जाल अकाउन्टहरुले यसबारे खबर गरेका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीको समूह अश्रुग्यास, रबरको गोली र असली गोलीसमेत प्रयोग गरी हिंसात्मक रुपमा भिडमाथि जाइलागेको थियो ।

केन्द्रीय सहर म्यिनग्यानमा १४ वर्षीय किशोरलाई गोली लाग्दा मृत्यु भएको सामाजिक सन्जालहरुमा पोस्ट गरिएको थियो । त्यसको केही समयपछि दोस्रो व्यक्तिलाई पनि गोली लागि मृत्यु भएको रिपोर्ट गरिएको हो । अन्य सहरहरुमा पनि यसै प्रकारले मृत्युका खबर आइरहेका थिए ।

तर सुरक्षाकर्मीहरु आक्रामक बन्दै गए पनि प्रदर्शनकारीहरुको सङ्ख्यामा कमी भने आएको छैन । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार आइतबार मात्र देशभर सुरक्षाकर्मीसँगको झडपमा १८ जनाको मृत्यु भएको थियो ।

राष्ट्रसंघको सुरक्षा परिषद्‌ले आगामी शुक्रबार फेरि यससम्बन्धी बैठक बस्ने अपेक्षा गरिएको छ । तर यसमा दुई स्थायी सदस्य रुस र चीनले विरोध जनाउने हुँदा राष्ट्रसंघका तर्फबाट कदम उठाउन कठिन हुने बताइएको छ । क्षेत्रीय शक्तिहरुले यसअघि नै यो म्यानमारको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्ने बताइसकेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •