विप्लवसँगको वार्ता सम्पन्न: वार्ता सकारात्मक रहेको – राजन भट्टराई


विप्लवसँगको वार्ता सम्पन्न: वार्ता सकारात्मक रहेको – राजन भट्टराई

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच आज पहिलो चरणको वार्ता भएको छ । वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,” उनले फेसबुकमा लेखेका छन् ।

सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेका छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो । त्यसको भोलिपल्ट पहिलो चरणको वार्ता भएको छ ।

विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो । वार्तामा के–के भयो खुलाइएको छैन । दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । 


तस्बिर: राजन भट्टराई फेसबुक