काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि अध्यक्ष राउत पैसा फ्याकेर भागेका थिए ।
गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङको गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।
राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयको टोली उनलाई खोज्दै पुगेको थियो ।
गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि बरामद गरेको अख्तियारका प्रवक्ता रिमालले जानकारी दिएका छन् भने अध्यक्ष फरार भएपछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ।