गलेश्वर शिवालय मन्दिरको छाना पित्तलले छाइने


लेखक : लेखापढी      १६ फाल्गुन २०७७, आईतवार १०:१५ मा प्रकाशित     
गलेश्वर शिवालय मन्दिरको छाना पित्तलले छाइने

बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे। मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गरेका थिए। पित्तलको छाना राख्न रु २५ लाख लागत अनुमान गरिएको छ । 
मन्दिरको छाना फेर्ने निर्णय गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले गरेको हो । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताए । 
100% LikesVS
0% Dislikes
Spread the love !