पहाडी भूभागमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने


पहाडी भूभागमा मेघगर्जन र चट्याङ सहित वर्षा हुने

काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । पहाडी भूभागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो वाग्मती प्रदेशसहितका देशका पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश नम्बर–१ को पहाडी भूभागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही पहाडी भूभागमा एक–दुई दिन आंशिक बदली रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘पूर्व र मध्य क्षेत्र (वाग्मती प्रदेशसहित)का पहाडी भूभागमा एक–दुई दिन आंशिक बदली रहनेछ,’’ पौडेलले बाह्रखरीसित भने, ‘‘गण्डकी प्रदेशमा आजैदेखि मौसममा सुधार हुँदै जानेछ ।’’

तर, तत्काल ठूलो वर्षा र मौसम परिवर्तनको सम्भावना नरहेको उनले बताए । केही स्थानमा फाट्टफुट्ट वर्षा भने हुनसक्ने उनको भनाइ छ ।

आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सभावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ ।