संसद् पुनर्स्थापना भएसँगै गठबन्धनको सरकार निर्माणको दौडधुप सुरु भएको छ । नेकपा प्रचण्ड-नेपाल समूहले सरकार निर्माणका लागि छलफलको प्रारम्भ गरेका हुन् ।
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बुधबार बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अब सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो ।
देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् ।
प्रतिनिधिसभाको पुनर्स्थापनाको फैसला आएसँगै बीबीसीसँगको अन्तर्वार्तामा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार निर्माणको संवादको थालनी आफ्नो पार्टीले सुरु गर्ने बताएका थिए । आफू प्रधानमन्त्रीको दौडबाट टाढा रहने उनको भनाइ थियो ।
‘अब राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि संवाद सुरु गर्छौं । प्रधानमन्त्री हुनका लागि हामीले आन्दोलन गरेका होइनौँ,’ प्रचण्डको भनाइ थियो ।
नेकपा अध्यक्ष नेपालले भने, ‘कांग्रेस पार्टी, जसपा र केपी ओलीको प्रतिगमनविरुद्धमा रहेका पार्टीहरुसँग मिलेर जाने पक्षमा हामी छौं । केपी ओलीले राजीनामा दिन्छन् भने सबैभन्दा राम्रो । राजीनामा दिएनन् भने उहाँलाई निकाल्नु पर्छ र अर्को संयुक्त सरकार बनाउनु पर्छ, मिलेर अघि बढ्यौं भन्यौं ।’
सत्ता समिकरण
बहुमतको सरकार बनाउन १ सय ३८ जना सांसदको समर्थन चाहिन्छ । यो संख्या आफ्नै समूहबाट पुर्या१उन नेकपाका दुवै समूहलाई कठिन छ ।
नेकपासँग १७४ सिटमध्ये ओली समूहको नेकपासँग ८१ र प्रचण्ड माधव समूहसँग ९३ सांसद खुलेका छन् । त्यसैले कांग्रेससँग ६३ जना सांसद रहेकाले हालको अंक गणितका आधारमा दुवै समूहमध्ये जसले कांग्रेसको समर्थन पाउँछ, उसलाई गठबन्धनको सरकार बनाउन संख्या पुग्नेछ ।
नेकपाको एक समूहसहित कांग्रेस र ३४ सिट भएको जसपा गठबन्धनको सरकार दुईतिहाइ बहुमतको हुनेछ ।