नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्ण गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ।
‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भने ।
ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ।
त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।