काठमाडौं । हाल एक मात्र पुनर्बिमा कम्पनी रहेको नेपाली बजारमा छिटै अर्को पुनर्बिमा कम्पनि आउने तयारीमा छ । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिमा कम्पनी ल्याउनका लागि तयारी थालिएको छ ।
स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बताइसकेका छन् ।
प्रस्तावित काठमाडौं रि इस्योरेन्सको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ हुने बताइएको छ । ३० प्रतिशत सेयर भने सर्वसाधारणका लागि छुट्याउने गरी तत्काल चुक्ता पुँजी ७ अर्ब रुपैयाँ हुनेछ ।
बिमा क्षेत्रमै बिज्ञहरु द्वारा नयाँ कम्पनि खोल्ने तयारि रहेको छ । प्रस्तावित उक्त कम्पनीमा बिमा क्षेत्रको निमनकारी निकाय बिमा समितिकै पूर्ब अध्यक्ष देवेन्द्र प्रताप साह, बिमा कम्पनीका सबै भन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बिमा कम्पनीका पूर्ब अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टिम बनेको छ ।
कम्पनीमा विदेशी साझेदार समेत भित्र्याउने गरी काम भइरहेको टिमका सदस्य भट्टराईले जानकारी दिए । उनका अनुसार ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बिमा वा पुनर्बिमा कम्पनीलाई दिइनेछ । सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय सञ्चालक समिति रहने गरी गृहकार्य गरिएको उनले जानकारी दिए ।
पुनर्बीमा भन्नाले जीवन र निर्जीवन बीमा कम्पनीहरुको बीमाको पनि बीमा गर्ने व्यवसाय बुझिन्छ । बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ ।
बजारमा नयाँ पुनर्बिमा कम्पनि आउने देखिए संगै लगानीकर्ताहरुमा थप हौसला पक्कै थपिनेछ ।