एजेन्सी- कोभिड-१९ अन्य व्यक्तिहरुमा फैलिनबाट नियन्त्रण गर्न मास्क प्रयोग गर्न थालिएको हो । अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज’ का निर्देशक, वरिष्ठ डाक्टर एन्थोनी फौसीले २०२० सम्मै मास्क लगाइरहनुपर्ने सम्भावना रहेको बताएका छन् ।
पेन्डामिक अघिको जीवनमा कहिले फर्कन सकिएला भन्ने अनुमान गर्न नमिले पनि यस वर्षको अन्त्यतिरमा धेरै कुरा सामान्यीकरण हुने उनले बताए । उनका अनुसार गत वर्ष जे हामीलाई ठूलो बोझजस्तो लागेको थियो, त्यो अब कम भयानक लाग्न थाल्नेछ ।
उनले भनेका छन्, “वर्षको अन्त्यसम्म अर्को जाडोयाम आइपुग्दा हामी धेरै हिसाबमा सामान्य जीवनमा फर्किसकेका हुनेछौँ । तर यसमा सो जीवनशैली २०१९ को नोभेम्बरअघिको अवस्थामै पुगिनेछ भन्नेचाहिँ निश्चित छैन तापनि हामी अहिले भन्दा धेरै सहज महसुस गर्नेमा म राष्ट्रपति बाइडेनसँग पूर्ण सहमत छु ।”
अझै पनि भविष्यमा धेरै अप्रत्याशित घटना हुन सक्ने हुँदा सावधानी अपनाइ राख्न चाहिँ जरुरी भएको उनले बताए । कोरोना भाइरस लगातार परिमार्जित भइरहेका कारण अहिले शतप्रतिशत बताउन नसकिने उनको भनाइ छ ।
यसमा उनले मास्क लगाउन कहिले छाड्न सकिन्छ भन्नेमा चाहिँ यो कुरा समुदायमा कोरोना भाइरसको उपस्थिति कति छ भन्नेमा निर्भर हुनेछ भनेर व्याख्या गरे । संक्रमणको स्तर सबैभन्दा न्यून विन्दुमा पुगेर कोरोनाका बिरामीसँग सम्पर्कमा आउने जोखिम एकदम थोरै भए मात्र मास्कको आवश्यकता हट्ने उनले बताएका हुन् ।
आइतबारसम्म अमेरिकामा ६ करोड ३० लाख खोपका डोज सञ्चालनमा आइसकेको सीडीसीले जनाएको छ । कोभिड १९ खोप उत्पादनमा वृद्धि र सबै को सजिलै पहुच भएमा छिट्टै मास्क लगाउनुपर्ने बाध्यता सकिनेछ ।