काठमाडौं, ९ फागुन । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।
म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्। ‘आक्रोशित प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।
शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाले शासन सुरु गरेको छ। एजेन्सी