काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भारतको नयाँदिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आउन थालेको जानकारी दिए । उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।
उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए । उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिका अनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिएका छन् ।